स्थानीयवासीकाे अवराेधकै बीच बञ्चरेडाँडामा १ सय ८८ वटा गाडीका फाेहर फ्याँकियाे

 भदौ १, २०७९ बुधबार २०:१५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – स्थानीयवासीको अवरोधकै बीच आज बुधवार बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा एक सय ८८ वटा गाडीका फोहर फ्याँकिएको छ । केही दिनदेखि स्थानीयवासीले अवरोध गरेका कारण प्रहरी परिचालन गरेर काठमाण्डौ उपत्यकाको फोहर ल्यान्डफिल्ड साइटमा फ्याँक्दै आएकोमा आज पनि प्रहरीले अवरोध हटाउँदै फोहर बाेकेका गाडी बञ्चरेडाँडा पुर्‍याएकाे हो ।

आज बञ्चरेडाँडामा सशस्त्र प्रहरी पनि परिचालन भएको छ । फाेहर फ्याँक्ने क्रममा अवराेध गर्ने एक जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोट लगिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

यसैबीच काठमाण्डौ उपत्यकाको फोहर बञ्चरेडाँडामा लैजाँदा उत्पन्न समस्याबारेमा छलफल गर्न अहिले काठमाण्डौ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित पालिकाका पदाधिकारीको बैठक बसिरहेको छ । नुवाकोटको ककनीमा छलफल भइरहेको एसपी मैनालीले जानकारी दिनुभयो । बैठकमा काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल सहभागी हुनुहुन्छ ।

यस्तै छलफलमा काठमाण्डाै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनीबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलगायत जनप्रतिनिधि तथा केही स्थानीयवासी पनि सहभागी छन् । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया