‘स्वदेशमा बनेका सामग्री निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्नुपर्छ, राेजगारी विस्तार गर्नुपर्छ’

 भदौ २, २०७९ बिहिबार १५:४४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न उद्योगी, व्यवसायीसँग आग्रह गर्नुभएको छ । 

बिहीवार ललितपुरमा छैटौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्ताे आग्रह गर्नुभएको हो । उहाँले महिला उद्यमशीलता प्रवर्द्धन क्षेत्रलाई थप प्रभावकारी बनाइ रचनात्मक भूमिका निर्वाह गर्न जरुरी रहेको पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले यस्ता मेलाले व्यावसायिक सञ्जाललाई विस्तार गर्नुका साथै व्यवसायी र उपभोक्तासँगको सम्बन्धका साथै समन्वयलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । स्वदेशमै उपलब्ध कच्चा पदार्थ, स्राेत साधनलाई अधिकतम प्रयोग गरी स्वदेशमा उत्पादित सामग्री निर्यात गर्ने र विदेशी मुद्राको आर्जन, रोजगारी विस्तार गर्नमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । 

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘महिला उद्यमशीलता प्रवर्द्धन क्षेत्रलाई थप प्रभावकारी बनाइ रचनात्मक भूमिका निर्वाह गर्न जरुरी छ । जुम्ला, हुम्ला, डडेल्धुराजस्ता विकट जिल्लाबाट पनि उद्यमशील महिलाहरू सहभागी भइ आफ्ना उत्पादन प्रदर्शनीमा ल्याएको जानकारी पाउँदा खुसी लागेको छ । यस्ता व्यापार मेलाहरूमा स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक सीपबाट उत्पादित स्वदेशी वस्तुहरूलाई प्राथमिकताका साथ समावेश गरेर प्रचारप्रसार तथा लगानी विस्तार गर्न आवश्यक छ । यसले दिगो विकासको लक्ष्यमा मद्दत पुग्नेछ । यसका लागि सरकार आवश्यक सहयोग गर्न तयार छ ।’

प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रकाे योगदान महत्त्वपूर्ण रहेको भन्दै निजी क्षेत्रले नै नेपालको कुल गार्हस्थ्य उत्पादन, रोजगारीको सिर्जना बढाएको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्रका समस्या र चुनौतीको सामना गर्दै अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई चलाइराख्न सरकार र निजी क्षेत्रले उचित समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने खाँचो रहेको बताउनुभयो । 

यही भदौ ६ गतेसम्म सञ्चालन हुने व्यापार मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरूको सहभागिता रहनेछ । नेपालमा उत्पादित वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्य महासङ्घले राखेको छ । मेलामा हस्तकलाबाट बनेका प्राकृतिक रेसाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हाते कागजका वस्तु, जैविक खाद्य पदार्थ, स्वदेश तथा विदेशका खानेकुराका परिकार, कृषिजन्य उत्पादन, पुष्प सामग्री, जडीबुटी, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाका स्टल प्रदर्शनीमा राखिएका छन् । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया