आज पनि बिहानैदेखि चर्को घाम, पानी नपर्दा गर्मी बढ्यो

 भदौ ६, २०७९ सोमबार ७:२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढेको छ । पानी नपर्दा गर्मी बढेको हो । अझै एक/दुई दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।

काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्केको छ । दिउँसोको समयमा हिजोको जस्तै अझै गर्मी बढ्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । हिजो काठमाण्डौको अधिकतम तापक्रम ३० दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै, धनगढीको अधिकतम तापक्रम ३५ दशमलव ६ डिग्री सेल्सियस, भैरहवा, नेपालगञ्ज र दीपायलको अधिकतम तापक्रम ३४ दशमलव ५, जनकपुरको ३४ डिग्री सेल्सियस र सिमराको ३३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । मनसुनी न्यून चापीय रेखा नेपाल नजिक नरहेकाले केही दिनयता राम्ररी पानी पर्न सकेको छैन ।

बर्खाको बेला भए पनि पानी नपर्दा धेरै ठाउँका खेतबारीमा लगाएका बाली सुक्न थालेका छन् । पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहे पनि तराईका जिल्लामा राम्ररी पानी नपरेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् विनु महर्जनका अनुसार यो हप्ताभरि नै लगातारको झरी पर्ने सम्भावना छैन । तर, केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भने हुन अनुमान छ । आज पनि पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख हल्कादेखि मध्यम  वर्षा हुने मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया