मोरङमा दुई वटा पेस्तोलसहित दुई जना पक्राउ

 भदौ ६, २०७९ सोमबार ११:२३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मोरङको सुनवर्षी नगरपालिका-८ खरेबारी अन्तर्गत भारतीय सीमाक्षेत्रबाट दुई वटा पेस्ताेलसहित एक जना पक्राउ परेका छन् । प्रहरीले हिजाे माेरङ सुनवर्षीकै २८ वर्षीय आरिफ आलमलाई पक्राउ गरेको हाे।

को २७ प ४०६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी सिक्टीले एउटा अटोमेटिक चाइनिज पेस्तोल त्यसकाे एउटा म्याग्जिन तथा एक राउण्ड गोली तथा एउटा सिक्सर पेस्तोलसहित पक्राउ गरेको हो ।

आलमले पेस्तोल उर्लाबारी नगरपालिका-६ बस्ने २९ वर्षीय नविन धिमालले मगाएको बताएका र उनकाे बयानको आधारमा धिमाललाई पनि मोरङको रतुवामाई नगरपालिका-८ दाम्राभिट्टाबाट पक्राउ गरिएको छ।

धिमालले प्रयोग गरेको को २२ प ६७०७ नम्बरको मोटरसाइकल तथा ४७ हजार ७ सय ७० नेपाली रुपैयाँ र दुई थान मोबाइल सेट समेत बरामद भएको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका दुवै जनालाई बरामद गरिएकाे पेस्तोल, म्याग्जिन, गोली, मोटरसाइकल, रुपैयाँ र माेबाइलसहित कारबाहीका लागि नेपाल प्रहरीमा बुझाइएको छ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बीओपी बनैनियाले हिजाे सप्तरी जिल्लाको राजगढ नगरपालिका-२ बनैनिया सीमा क्षेत्रबाट एउटा कटुवा पेस्तोल तथा त्यसकाे एउटा गोली बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथै आफूले बोकेको शङ्कास्पद वस्तु छाडेर फरार भएका थिए । शङ्कास्पद वस्तु जाँच गर्दा पेस्तोल तथा गोली बरामद गरिएको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया