सुक्खाग्रस्त क्षेत्र बाँकेको नरैनापुरमा वैकल्पिक बाली लगाउन सुझाव

 भदौ ९, २०७९ बिहीबार ११:१८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - बाँकेको नरैनापुर गाउँपालिकामा खडेरीका कारण रोपाइँ नभएपछि कृषि विज्ञले वैकल्पिक बाली लगाउन सुझाव दिएका छन् । विज्ञसहितको सल्लाहमा किसानका लागि मुख्य गरी कोशेबाली लगाउन भनिएको गाउँपालिकाले जनाएको छ ।

नरैनापुरलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । त्यहाँ १५ प्रतिशत मात्रै धान खेती भएको छ । रोपिएको धान पनि पानी नपर्दा सुकेको छ । अब गहुँखेती गर्नुअगाडि कोशेबाली सम्भव भएकाले त्यस्ता बाली लगाउन सुझाव दिइएको गाउँपालिकाको कृषि शाखाका प्रमुख सदन भण्डारीले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालका अनुसार सुक्खा क्षेत्रमा पानी कम भए पनि खेती हुने, छोटो अवधिको मासखेती गर्न किसानलाई सुझाव दिइएको छ । यसबाहेक कोशेबाली खेतीको रुपमा तेलहन बाली अर्थात तोरी खेती पनि गर्न सकिन्छ ।

किसानले नगदे बालीको रुपमा बन्दागोभी पनि लगाउन सक्ने विज्ञले बताएका छन् । यसअघि सुक्खा क्षेत्रको अवस्थाबारे बुझ्न कृषि अनुसन्धान निर्देशनालय, खजुराका कृषि वैज्ञानिक रामदास चौधरी, कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख ढकाल, बागवानी अधिकृत रामप्रसाद यादव र किसान–२, परियोजनाका टुकनारायण अर्यालसहितको टोलीले स्थलगत अवलोकन गरेको थियो । बाँकेको नरैनापुरमा झण्डै ९० प्रतिशत क्षेत्रमा धानखेती हुने गरेकोमा यसपाली खडेरी परेपछि रोपाइँ हुन सकेन ।

नरैनापुरमा चार हजार दुई सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको थियो । अहिले रोपाइँ भएकोमध्ये पनि आधाजसो धान पानी नपाएर मर्ने अवस्थामा पुगेको छ । पालिकामा २ सय ६० हेक्टरमा सिँचाइ छ तर पानीको स्रोतसमेत सुकेकाले समस्या भएको छ ।

अबका दिनमा कृषिका पूर्वाधार बढाउने, डिपबोरिङ्गका योजना बनाएर काम गर्ने र पुराना संरचनालाई मर्मत गर्ने कृषि शाखाका प्रमुख भण्डारीले बताउनुभयो ।    

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया