'अग्निपथ योजना' अन्तर्गत नै गोर्खा भर्तीलाई निरन्तरता दिने भारतको भनाइ

 भदौ ९, २०७९ बिहीबार १९:४९:३० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

भारतले आफ्नो सेनामा हुने गोर्खा भर्ती पनि अग्निपथ योजनाअनुसार नै हुने प्रष्ट पारेको छ । आज बिहीवार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले अग्निपथअनुसार नै गोर्खा सैनिकको भर्ती हुने बताउनुभएको हो ।  

भारतीय सेनाको गोर्खा रेजिमेन्टमा नेपालसहित भारतका विभिन्न ठाउँमा रहेका नेपाली मूलका नागरिकलाई भर्ती गरिन्छ । यसअघि नेपाल सरकारले नेपालीलाई अग्निपथ योजनाअनुसार भर्ती गर्न लागेको हो कि होइन भनेर स्पष्ट नभएकाले अहिले भर्ती स्थगित हुने जानकारी दिएको थियो ।

परराष्ट्रमन्त्री नारायण खड्काले  हिजो बुधवार काठमाण्डाैकाे भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमै बोलाएर अब भारतीय सैनिकमा नेपालीको भर्ती सन् १९४७ को बेलायत, भारत र नेपालको सम्झौताअनुसार हुने हो कि होइन स्पष्ट हुनुपर्ने बताउनुभएको थियो । परराष्ट्र मन्त्री खड्काले अग्निपथबारे स्पष्ट नभएकाले तत्काल नेपाली भर्ती नहुने बताउनुभएको थियो । तर सरकारले यसबारेमा औपचारिक पत्र भने पठाएको छैन ।

गएको असार पहिलो हप्ता भारतले सेनामा नयाँ भर्नाका लागि अग्निपथ नामको नयाँ 'स्किम' ल्याएको थियो । साढे १७ वर्षदेखि २३ वर्षसम्मका युवा अग्निपथ योजनाअनुसार भर्ती हुन पाउँछन् । यो योजनाअनुसार भर्ती हुनेहरूले चार वर्षमात्र सेवा गर्न पाउनेछन् । नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको सम्झौताअनुसार नेपालीहरू भारतीय र बेलायती सैनिकमा भर्ती हुन पाउँछन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलनमा अग्निपथअनुसार नै गोर्खा भर्ती हुने बताए पनि यसबारे नेपाललाई औपचारिक जानकारी भने भारत सरकारले दिएको छैन । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया