सासूमाथि कुटपिट गरेकाे घटना बाहिर ल्याउने ११ वर्षीय बालक सम्मानित

 भदौ १०, २०७९ शुक्रबार १५:४३:५३ | चन्द्र थापा
unn.prixa.net

अछाम – अछाममा सासूलाई कुटपिट र दुर्व्यवहार गरेको घटना बाहिर ल्याउने ११ वर्षीय बालक आज शुक्रवार सम्मानित हुनुभएको छ । 

यही भदौ ७ गते अछामको पञ्चदेवल विनायक नगरपालिका ६ मा ५३ वर्षीया जैसरा न्यौपानेलाई आफ्नै बुहारीले लछारपछार गरी अमानवीय व्यवहार गरेको भिडियो खिचेर घटनाबारे जानकारी बाहिर ल्याउने त्यही ठाउँका बालक दीपेन्द्र न्याैपाने सम्मानित हुनुभएकाे हाे । न्याैपानेलाई सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले सम्मान गर्नुभएकाे जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी कैलाशसिंह विष्टले बताउनुभयो ।

बालकले तत्काल घटना राेक्न नसके पनि घटनाकाे भिडियो रेकर्ड गरी समाजमा लुकेर रहेका घरभित्रका हिंसाका घटनालाई बाहिर ल्याउनुका साथै कानुनी दायरामा ल्याउनमा महत्त्वपूर्ण योगदान पुर्‍याएकाे भन्दै उहाँलाई सम्मान गरिएकाे हाे । मन्त्री रावलले समाजको विकास र विकृति नियन्त्रणमा हरेक व्यक्तिको भूमिका हुने भन्दै बालक न्यौपानेको कामको प्रशंसा गर्नुभयो ।

कुटपिटमा परेकी सासुको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने दुई जना बुहारीलाई प्रहरीले पक्राउ गरेकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया