'पैँचो' का उत्पादन अमेरिकामा निर्यात सुरु

 भदौ १०, २०७९ शुक्रबार १८:३४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री, वितरण गर्दै आएको पैँचो पसल प्रालीद्वारा उत्पादित ‘पैँचो उत्पादन’ हरू अब संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा उपलब्ध हुने भएको छ । 

पैँचोले आफ्नो उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरा माझ पुर्‍याउने उद्देश्यले अमेरिकामा निर्यात सुरु गरेको हो । पैँचोका उत्पादन अमेरिका पुर्‍याउन न्युयोर्कमा कार्यालय रहेको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिम प्रालीमार्फत सहकार्य गरेको छ । 

‘बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने मूल मन्त्रका साथ सुरु भएको पैँचो पसल प्रालीका उत्पादनप्रति नेपालभरका उपभोक्ताको विश्वास बढ्दो क्रममा छ । यस्तै विदेशमा बसोबास गर्ने नेपाली समुदायले पनि रुचाउने आफ्नै जन्ममाटोको स्वादको पारखकै कारण समेत पैँचोले आफ्नो उत्पादनलाई औपचारिक रूपमा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन लागेको हो । 

अर्गानिक र इन्ट्रिग्रेटेड पेस्ट म्यानेजमेन्ट पद्धतिबाट उत्पादित ग्रामीण खाद्यवस्तुको रैथाने स्वादलाई विदेशमा लैजान सुरु गरिएको पैँचो पसल प्रालीका बजार व्यवस्थापक लक्ष्मण गैरेले जानकारी दिनुभयो । गैरेले भन्नुभयो, ‘अहिले विदेशमा बस्ने नेपालीले नेपालकै उत्पादनप्रति धेरै नै चाहना गरिरहेका हुन्छन् । नेपाल आएपछि विदेशमा फर्किँदा थोरै मात्र त्यस्ता उत्पादन साथमा लगे पनि लामो समय विदेशमा बस्दा स्वदेशी खाद्यवस्तुको अभावको महसुस भइरहेको हुन्छ । त्यसैले पैँचोले अहिले नेपालको ग्रामीण स्वादलाई विश्वभरि छरिएर रहनुभएका नेपाली माझ पुर्‍याउने योजना अगाडि बढाइरहको छ ।’

नेपालमा धेरैजसो खाद्यपदार्थ विदेशबाटै आयात हुने गरेको छ । तर नेपालको स्वाद विदेशबाट आउने कुनै पनि वस्तुमा पाउन सकिँदैन । त्यसो त किसानले आफ्नै खेतबारीमा उत्पादन गर्न सक्ने वस्तुको आयात निरन्तर बढ्दा व्यापार घाटा बढिरहेको छ । जसका कारण देशको अर्थतन्त्रलाई समेत नकारात्मक असर परिरहेको छ । गुल्मीबाट सुरु भएको पैँचो पसलले गुल्मीसहित पाल्पा, अर्घाखाँची, बाग्लुङ, प्युठान, रोल्पा, रुकुम, सल्यान, जुम्ला, कालीकोटलगायतका जिल्लाका किसानले उत्पादन गरेको कृषिजन्य पदार्थलाई खरिद गर्दै आएको छ । जसका कारण ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन र केही मात्रामा भए पनि राष्ट्रिय अर्थतन्त्रलाई जीवन्त राख्न पैँचोका उत्पादनले भूमिका खेलेका छन् । यसैगरी विदेशी आयातलाई प्रतिस्थापन गर्न स्वदेशकै ठूला औद्योगिक प्रतिष्ठानहरूलाई पैँचो पसलले औद्योगिक कच्चा पदार्थ उपलब्ध गराइरहेको छ । यस अर्थमा पैचोद्वारा प्रशोधित उत्पादन विदेशमा निर्यात हुँदा त्यसको स्वामित्व ती गाउँले किसान परिवारसम्म पुग्छ भन्नेमा पैँचो पसल विश्वस्त रहेको छ । 

पैँचोका उत्पादन गुणस्तरीय र नेपाली स्वादमा समेत अब्बल छन् । पैँचोका उत्पादनप्रति आम उपभोक्ताको रूचि बढ्दै गएको छ । भर्खरै मात्र पैँचोका उत्पादनले अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्रमाणपत्र (आईएसओ २२००ः२०१८), (आईएसओ ९००१ः२०१५०), डब्लुएचओ–जीएमपी प्राप्त गरेको छ । 

अमेरिकामा किन ? 

नेपालमा अथाह सम्भावना हुँदा हुँदै पनि कमिसन र बढी नाफाको लोभमा विदेशी वस्तुहरूको अत्यधिक आयात भइरहेको छ । तर पैँचोले ती विदेशी उत्पादनसँग निरन्तर प्रतिस्पर्धा गरिहेको छ । 

बजार व्यवस्थापन गैरेले भन्नुभयो, ‘नेपालमा बनेको उत्पादनलाई विश्व बजारमा पुर्‍याउनु पनि नेपालीको लागि गौरवको कुरा हो । त्यसमाथि नेपाली उत्पादनप्रतिको विश्वासकै कारण हामीले विगतदेखि नै जापान, अस्ट्रेलिया र युरोपका धेरै देशमा पैँचोका उत्पादन पुर्‍याउँदै आएका छौँ । अमेरिका बस्ने नेपाली समुदायले नेपाल चिनाउने र नेपालमै उत्पादन भएको पैँचो उत्पादनको निरन्तर माग गरेपछि हामी अमेरिकी बजारमा प्रवेश गरेका हौँ । अमेरिका बसे पनि नेपाली पहाडी गाउँको खाद्य उत्पादन खान पाउँदा त्यहाँका उपभोक्ता खुसी हुने हामीले विश्वास गरेका छौँ ।  

पैँचोको उत्पादनमा दशौँ हजार किसान प्रत्यक्ष–अप्रत्यक्ष रूपमा आबद्ध भएका छन् । पैँचो पसल प्रालीले औद्योगिक प्रशोधन गरी विभिन्न स्वादका अचार, विभिन्न प्रकारका जाम, केचप, सस, टोमेटो प्युरी, भेनगर उत्पादन गरिरहेको छ । यसैगरी परम्परागत खाद्यवस्तु जस्तैः फापरको पिठो, कोदोको पिठो, सिन्की, मस्यौरा तथा जुम्लाको सिमी र पहाडी जिल्लामा उत्पादित मकैको आटो (च्याख्ला) लगायतका जस्ता खाद्य वस्तु उत्पादन गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया