एमाले केन्द्रीय कमिटी बैठक : ओलीको प्रतिवेदनमाथि ९ समूहमा छलफल हुँदै

 भदौ ११, २०७९ शनिबार ६:५९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - नेकपा एमालेको आज बस्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ । राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न ९ समूह विभाजन गरिएको छ।

प्रतिवेदनमा समूहगत छलफलपछि अध्यक्ष ओलीले आजै जवाफ दिने र केन्द्रीय कमिटी सकिने एमालेले जनाएको छ । एमालेको केन्द्रीय कमिटी बैठक हिजोदेखि पार्टी कार्यालय ललितपुर च्यासलमा सुरु भएको हो। आजको बैठक बिहान साढे १० बजे बोलाइएको छ।

बैठकमा अध्यक्ष ओलीले नागरिकता, गठबन्धन सरकार, पालिका चुनावदेखि मंसिरमा हुने सङ्घ र प्रदेशको चुनावी तयारीसम्मका विषय समेटेर प्रतिवेदन पेस गर्नुभएको छ । प्रतिवेदनमा पालिका चुनावको परिणाम बिर्सेर आउँदो चुनावको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिइएको छ।

प्रतिवेदनमा वर्तमान सरकार र सत्ता गठबन्धनका कारण राष्ट्रियता, लोकतन्त्र र जनजीविकामा गम्भीर सङ्कट निम्त्याएको उल्लेख छ । यस्तै पार्टीलाई बहुमतका लागि १६ प्रतिशत मतको अभाव रहेको भन्दै त्यसको पूर्ति गर्न आवश्यक कदम चाल्ने पनि अध्यक्ष ओलीले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।

ओलीको प्रतिवेदनमा चुनावको मूल सन्देश र शिक्षालाई स्थापित गर्ने, प्रतिरक्षात्मक मनोविज्ञानलाई अन्त्य गर्ने, चुनावको तयारी, परिचालन र मत रक्षामा कहाँ–कहाँ कमी रह्यो भन्ने चुनावी समीक्षाबाट निकालिएका निष्कर्षहरूको सूची बनाएर विगतको कमीलाई नदोहोर्याउने सुनिश्चित गर्ने उल्लेख छ।

यसैगरी पालिका चुनावको परिणामलाई आधार बनाएर प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रको अलग–अलग विश्लेषणसहित शक्ति सन्तुलनको अद्यावधिक समीक्षा गर्ने तथा पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्ने पनि एमालेले जनाएको छ। 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया