भक्तपुरमा १४ लाख रुपैयाँ बराबरको खाद्यान्न नष्ट : लापरबाही गर्नेलाई तीन लाख रुपैयाँ जरिबाना

 भदौ ११, २०७९ शनिबार ७:३०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - भक्तपुर नगरपालिका–१ चुनदेवीमा रहेको ‘चुनदेवी खाद्य स्टोर’ मा छापा मारेर १४ लाख रुपैयाँ बराबरको खाद्यान्न नष्ट गरिएको छ । स्टोरमा रहेका विभिन्न ब्राण्डका चामल, दाल र तेल जफत गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा म्याद गुज्रेको, घुन तथा किरा परेको, कुहिएको चामल, दाल र तेल बिक्रीवितरण हुँदै आएको समेत भेटिएको छ । व्यापारी महेश ठकुल्लावटले गोदाम गरी राखेको खाद्यान्नमध्ये कुहिएका चामल गोदामबाटै रिफाइन गरी पुनः प्याकेजिङ गरी बजारमा बिक्रीका लागि पठाउने गरिएको पाइएको हो ।

उपभोक्ताले दिएको उजुरीका आधारमा अनुगमन गरिएको र व्यापारीले गोदामघरमै मेसिन राखेर बोरामा कुहिएका, घुन र किरा परेका चामललाई मेसिनमा राखेर किरा, घुन छुट्याएर, चामललाई पुनःसेतो बनाएर विभिन्न नामका बोरामा प्याकिङ गरेर त्यहीँ सिलाएर पुनःबिक्री गर्ने गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।

टोलीले गोदाम घरबाट छ घण्टा लगाएर १ सय १९ क्विन्टल चामल, ९ क्विन्टल ७५ किलो दाल र ६ सय ३६ लिटर तेल जफत गरी भक्तपुर नगरपालिकाद्वारा जगातीमा सञ्चालित प्राङ्गारिक मल उत्पादन केन्द्रमा लगेर नष्ट गरेको हो ।

म्याद गुज्रेको सामान पुनःबिक्रीका लागि लगेको, खाद्य सामान फेरबदल गरेको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाएको र नियमानुसार तीन लाख रुपैयाँ जरिबाना गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

जिल्ला घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहालले अहिलेसम्मकै ठूलो परिमाणमा खाद्य सामग्री नष्ट गर्नुपरेको र अरु व्यापारीलाई यस्ता गल्ती नगर्न सचेत गराउनुभयो । 

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया