ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर एमाले चुनावमा जाने, आफूखुसी उम्मेदवारी घोषणा नगर्न निर्देशन

 भदौ ११, २०७९ शनिबार १६:५०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेर चुनावमा जाने भएको छ । ललितपुरमा आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको एकल उम्मेदवारका रुपमा अघि सारेर चुनावमा जाने निर्णय गरेको हो ।

उपमहासचिव प्रदिप ज्ञवालीले राखेको प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेसँगै आउँदो चुनावमा एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चिनाएर प्रचार प्रसार गर्ने भएको हो । बैठकले अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पनि पारित गरेको छ । बैठकमा अध्यक्ष ओलीले चुनावका लागि आफूखुसी उम्मेदवारी घोषणा नगर्न नेताहरुलाई निर्देशन दिनुभएको छ । उहाँले पार्टीले टिकट दिए जित्ने गरी लाग्न र नदिए अरूलाई जिताउन भूमिका खेल्न पनि निर्देशन दिनुभएको केन्द्रीय सदस्य आशाकुमारी विकले जानकारी दिनुभयो ।

पालिका चुनावमा पार्टीभित्रकै घातले केही पालिकामा हारेको भन्दै ओलीले आउँदो चुनावमा टिकट नपाउनेले चित्त नदुखाइकन टिकट पाएका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो । यस्तै, नेकपा एमालेले आउँदो चुनावमा उम्मेदवार छनोटका ५ वटा मापदण्ड बनाउँदै भदौ २२ गतेभित्र उम्मेदवारको सिफारिस गर्न पनि निर्देशन दिएको छ । बैठकले प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटी र प्रदेशका लागि सम्बन्धित प्रदेश सभा क्षेत्र समन्वय कमिटीबाट उम्मेदवारको सिफारिस गर्न निर्देशन गरेको हो ।

उम्मेदवार छनोट गर्दा पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान,  सन्तुलन र समावेशिता र निर्वाचन कानुनबमोजिमको योग्यता भएको हुनुपर्ने गरी ५ वटा मापदण्डलाई ख्याल गर्न केन्द्रीय कमिटी बैठकले निर्देशन दिएको पार्टीका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया