लोडशेडिङ अन्त्य र विदेशमा बिजुली व्यापार गर्न सफल भएका छौँ : मन्त्री भुसाल

‘१५ सय मेगावाट बिजुली कसको झोलामा छ भनेर खाेजी गर्दैछाैँ’

 भदौ १२, २०७९ आइतबार १८:२९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारको तथ्याङ्कमा ६ हजार पाँच सय पीपीए भएको देखिए पनि १५ सय कसैको झोला रहेको बताउनुभएकाे छ । आज आइतवार मन्त्रालयकाे एक वर्षकाे कार्य प्रगति सार्वजनिक गर्दै मुन्त्री भुसालले १५ सय मेगावाट बिजुली कसको झोलामा छ भनेर अनुसन्धान गर्ने बताउनुभयो । 

मन्त्री भुसालले चार वर्षदेखि रोकिएको पीपीए अहिले खुला गरिएको र तत्काल बन्द नगर्ने पक्षमा सरकार रहेको बताउनुभयो । उहाँले बिजुली उत्पादनमा निजी क्षेत्र प्रवेश गरेकाले देशमा लोडशेडिङको अन्त्य र विदेशमा बिजुली निर्यात गर्न सरकार सफल भएको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘६५ सय पीपीए भएको रहेछ । १५ सय कसको झोलामा छ थाहा छैन । त्यसकाे मन्त्रालय खोजी गर्दैछ । त्यो पनि राज्यको स्रोत हो । पीपीएलाई सरकारले रोक्दैन । बङ्ग्लादेशमा बिजुली निर्यात गर्नुपर्ने छ । बिजुली उत्पादनमा निजी क्षेत्र प्रवेश गरेर नै लोडशेडिङको अन्त्य र विदेशमा बिजुली व्यापार गर्न सफल भएका छौँ । अब सरकारले बिजुली व्यापारका लागि लाइसेन्स दिनुपर्छ भने कुरा आएको छ । त्यो पनि नियमावली बनाएर ऐनको लागि संसदमा पेस गरिएको छ ।’

मन्त्री भुसालले आयोजनाको जडित विद्युत् क्षमता ८५ दशमलव ४ प्रतिशत बढाउनका लागि सरकारले बिजुली उत्पादकहरूलाई 'डिजाइन डिस्चार्ज' (क्यु) निःशुल्क गरेको बताउनुभयो । 

कार्यक्रममा बाेल्दै मन्त्री भुसालले बहुउद्देश्य बूढीगण्डकी जलविद्युत् आयोजना यही वर्ष बूढीगण्डकी विद्युत् उत्पादन कम्पनी बनाएर अगाडि बढाउने बताउनुभएको छ । उहाँले बूढीगण्डकी जलविद्युत् आयोजना १२ सय मेगावाटको स्टोरेज आयोजना भएको बताउनुभयो । याे आयोजना निर्माणका लागि जग्गा मुआब्जा, पुनर्वासलगायतको काम झन्डै सकिन लागेको उहाँकाे भनाइ छ ।  

उहाँले नेपालमा वर्षाको समयमा बिजुली धेरै हुने र हिउँदमा कम हुने भएकाले ६५ दिन भरपर्दो बिजुलीका लागि स्टोरेजमा जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । आफू मन्त्री भएर आएको एक वर्षमा गरेको महत्त्वपूर्ण काममा बूढीगण्डकी पनि पर्ने उहाँकाे भनाइ थियाे । 

मन्त्री भुसालले गएकाे आर्थिक वर्षमा मन्त्रालयको वित्तीय र भौतिक प्रगति क्रमशः ७६ दशमलव ६६ र ८० प्रतिशत उपलब्धि हासिल गरेको बताउनुभयो । गएकाे आवमा बिजुली उत्पादन क्षमता सात सय ४१ मेगावाट थप भइ कुल क्षमता दुई हजार दुई सय ६९ मेगावाट पुगेको उहाँले जानकारी दिनुभयाे । ६६ केभीभन्दा माथिको प्रसारण लाइन चार सय ४६ सर्किट किमी थप भइ पाँच हजार ८६ सर्किट किलोमिटर निर्माण भएको उहाँले बताउनुभयाे । उहाँका अनुसार विद्युत् चुहावट १७ दशमलव १८ बाट १५ दशमलव ३८ प्रतिशत पुगेकाे छ । 

मन्त्री भुसालले २० युनिटसम्म खपत गर्ने ग्राहकलाई निःशुल्क बिजुली उपलब्ध गराउने निर्णय कार्यान्वयमा आइसकेको पनि बताउनुभयो । विद्युत् आधारभूत आवश्कयताका साथै उत्पादनको साधन हो भन्ने मान्यताका साथ महसुल पुनरावलोकन गरी सिँचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रतियुनिट दुई रुपैयाँसम्म महसुल कायम गरिएको जानकारी दिनुभएको छ । 

समग्र विद्युत् महसुल दर घटाइएका कारण गार्हस्थ्यतर्फको विद्युत् खपत वृद्धि भएको छ । प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् खपत तीन सय २५ युनिटबाट बढेर तीन सय ५१ पुगेको पनि उहाँले जानकारी दिनुभयो । देशको झन्डै ९५ प्रतिशत नागरिकमा विद्युत् पहुँच पुगेको भन्दै उहाँले ‘स्वदेशी विद्युत् जोडौँ, विदेशी ग्यास छोडौँ’ भन्ने अभियानबाट बिजुली खपतमा वृद्धि भएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Nabraj shahi

    Aug. 30, 2022, 8:46 a.m.

    अघाेसित लाेड सेडिङले जनता राती निदाउन सक्ने अवस्था छैन अफिसमा प्रत्येक आधा , एक घण्टामा बत्ती गएर सेवाग्राही पसिना पुछ्दै सुस्केरामार्दै बत्ती कुरेर सेवा लिन बाध्य छन खाना पकाउने विद्धुतिय चुलाे किनेर स्टाेरमा थन्काउनु परेकाे छ । माैखिक लाेकप्रियताका लागि अली सुहाएकाे जस्ताे भएन र ?

  •  0 Reply

तपाईको प्रतिक्रिया