दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - विश्वमा माटोको सङ्कटलाई सम्बोधन गर्न सद्गुरुले मार्चमा सुरु गर्नुभएको विश्वव्यापी माटो जोगाऔँ अभियानलाई सहयोग गर्न नेपाल सशक्त रूपमा अग्रसर भएको छ ।
ललितपुरमा रहेकाे गोदावरी सनराइज सम्मेलन केन्द्रमा सम्पन्न 'माटो जोगाऔँ' कार्यक्रममा नेपाल सरकारको तर्फबाट वन तथा वातावरण मन्त्री प्रदीप यादवले अभियानलाई पूर्ण समर्थन गर्दै माटो जोगाऔँ अभियानको नेतृत्व गरिरहनु भएका ईशा फाउण्डेशनका संस्थापक सद्गुरुलाई एकताको ज्ञापनपत्र प्रदान गर्नुभयो । नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि यस कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।
सद्गुरुले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्नुभयो, अनि उहाँले माटो जोगाऔँ अभियानलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सद्गुरुले कुराकानीको बारेमा ट्विट गर्दै भन्नुभएको छ, 'माननीय प्रधानमन्त्री शेरबहादुर देउवा तथा गठबन्धनका नेताहरूसँग भेट्न र अन्तरक्रिया गर्न पाउनु खुसी र सौभाग्यको कुरा हो । (#माटो_जोगाऔँ) अभियानप्रति तपाईंको प्रतिबद्धताले यस अद्भूत भूमिमा रहेका कोमल जनताको भविष्यलाई आकार दिनुपर्छ #नेपाल । '
— Sadhguru (@SadhguruJV) September 2, 2022
कार्यक्रममा सद्गुरुले वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्द प्रसाद शर्मालाई माटो जोगाऔँ सम्बन्धी नीति-प्रारूपको पुस्तिका हस्तान्तरण गर्नुभयो । यस पुस्तिकाले व्यावहारिक, वैज्ञानिक समाधानहरू प्रदान गर्दछ जसलाई सरकारले माटोको प्रकार, अक्षांश, ठाउँहरू र सम्बन्धित राष्ट्रको कृषि परम्पराको आधारमा कार्यान्वयन गर्न सक्छ ।
नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले अभियानलाई पूर्ण समर्थन जनाउँदै सद्गुरुको ३० हजार किलोमिटरको माटो जोगाऔँ यात्राको सम्झनामा नेपाल सरकारले यो हप्ता ३० हजार रुखहरू रोप्ने घोषणा गर्नुभयो । माटोको विनाश रोक्नको लागि तत्काल नीतिगत पहलहरूका लागि जनचेतना जोगाउन र राजनीतिक सहमति निर्माण गर्नको लागि विश्वभरि यात्रा गर्नुभएकोमा सद्गुरुको प्रशंसा गर्दै उहाँले उद्घोष गर्नुभयो, 'तपाईँको अभियानलाई अगाडि बढाउन मन्त्रालय हरपल तयार छ । तपाईँले गर्नुभएका राम्रा कामहरूमा हाम्रो ऐक्यबद्धता छ ।'
सरकारका तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले भन्नुभयो, 'नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कन्सियस प्लानेट (जागरूक धरती) अन्तर्गत थालनी गरिएको माटो जोगाऔँ अभियानलाई हार्दिक स्वागत गर्दछ र त्यसमा अघि बढ्ने आशय र प्रतिबद्धता व्यक्त गर्दछकृषि तथा पशुपक्षी विकास मन्त्रालय स्वत:स्फूर्त रूपमा नयाँ नीतिहरू बनाउन, विद्यमान नीतिहरूलाई बलियो बनाउन साथै लगानी र कार्यक्रमहरू कार्यान्वयन गरी सक्रिय रूपमा हिमालयको यस भूमिमा माटो जोगाउन प्रतिबद्ध छ ।'
यस विषयलाई सम्बोधन गर्ने क्रममा सद्गुरुले भन्नुभयो, 'आज पनि लगभग ८५ प्रतिशत राष्ट्रहरूले माटोलाई कुनै वस्तुको रूपमा हेर्छन्, र त्यसलाई कुनै रसायनहरू थपेर वा हटाएर ठीक पार्न सकिन्छ भन्ने ठान्छन्। चाहे तपाईंलाई यो मन परोस् वा मन नपरोस्, जानी-नजानी हामी सबै यस विनाशको हिस्सा भएका छौँ । यसको एउटै उपाय भनेको हामी सबै समाधानको हिस्सा बन्नुपर्छ, अर्को कुनै उपाय नै छैन ।' सद्गुरुले माटो विनाशको विपत्तिलाई सम्बोधन गर्न सबैजना एकजुट हुन आह्वान गर्नुभयो ।
लोकतान्त्रिक राष्ट्रहरूले जनताको जनादेश पूरा गर्ने गरेको उल्लेख गर्दै सद्गुरुले सबैलाई माटो जोगाउनको लागि दीर्घकालीन समाधानका बारेमा बोल्न आग्रह गर्नुभयो ।
'कुनै पनि परिपक्व राष्ट्रका नागरिकहरू अघि बढेर आफ्नो देशको दीर्घकालीन हितका लागि आवाज उठाउने समय भएको छ… यदि सरकारहरूले राष्ट्रको दीर्घकालीन हितमा लगानी गर्नुपर्ने हो भने, तपाईंको आवाज बुलन्द हुनु निकै महत्त्वपूर्ण छ । तपाईंको जिम्मेवारी भोट मात्र होइन, तपाईंको जिम्मेवारी तपाईंको आवाजसमेत हो ।' - सद्गुरुले भन्नुभयो । सामाजिक सञ्जालको अद्भूत शक्तिलाई सदुपयोग गर्न सबैलाई प्रेरित गर्दै उहाँले भन्नुभयो, 'आज सौभाग्यवश प्रविधि र सामाजिक सञ्जालका कारण तपाईं घरमै बसेर आवाज उठाउन सक्नुहुन्छ… यदि तपाई साँच्चिकै प्रतिबद्ध हुनुहुन्छ भने आफ्नो घरमै बसेर तपाईं एकजना मात्रपनि पूरै संसारमा पुग्न सक्नुहुन्छ ।'
नेपालको ६० प्रतिशत माटोमा कम जैविक पदार्थ रहेको र ६७ प्रतिशत माटो अम्लीय रहेको तथ्याङ्क छ । नेपालका धेरै भागहरूमा माटोमा जैविक पदार्थको मात्रा २ प्रतिशत भन्दा कम छ, अनि केही क्षेत्रहरूमा यो १ प्रतिशत भन्दा कम छ, विशेषगरी तराई भूभागको खेती गरिएको माटोमा । नेपाल सरकारको २० वर्षीय दीर्घकालीन उद्देश्य कृषि विकास रणनीति (एडीएस) ले सन् २०३५ सम्ममा माटोको जैविक पदार्थलाई अहिलेको १९६ प्रतिशत बाट ४ प्रतिशत पुऱ्याउने लक्ष्य राखेको छ ।
मरिरहेको माटोलाई जोगाउनको लागि विश्वको ध्यान आकर्षण गर्न सद्गुरुले यस वर्ष मार्चमा विश्वव्यापी माटो जोगाऔँ अभियान सुरु गर्नुभएको थियो । अभियानले राष्ट्रहरूलाई नीतिगत पहलहरूमार्फत विश्वभरिको कृषियोग्य माटोमा ३-६ प्रतिशत जैविक पदार्थ कायम गर्न आग्रह गरिरहेको छ । माटोलाई उर्बर र उब्जाउयोग्य राख्न र यसलाई बालुवामा परिणत हुनबाट रोक्नको लागि ३-६ प्रतिशत न्यूनतम आवश्यक जैविक पदार्थ हो । कन्सियस प्लानेट (जागरूक धरती) र नेपाल सरकारबीच भएको समझदारीले यस देशको माटोको स्वास्थ्य सुधार गर्नको लागि नीति निर्माण गर्न प्रतिबद्धताको रूपमा काम गर्नेछ ।
इकोनोमिक्स एण्ड ल्याण्ड डिग्रेडेसन इनिसिएटिभ २०१५ अनुसार, हाम्रो पृथ्वीको ५२ प्रतिशत कृषियोग्य माटो नष्ट भइसकेको छ र उब्जनीको लागि अयोग्य भएको छ । खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जलवायु परिवर्तन र माटो लोपका कारण सन् २०५० सम्ममा कतिपय क्षेत्रमा बाली उत्पादनमा ५० प्रतिशत सम्म गिरावट आउने अनुमान गरेको छ । यस भयावह सङ्कटलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता बुझेर सद्गुरुले गएकाेे मार्चमा युरोप, मध्य एसिया, मध्यपूर्वी राष्ट्रहरूसहित २७ राष्ट्रहरू हुँदै एक सय दिनमा ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा गरी भारतमा समापन गर्नुभएको थियो ।
विश्वभरि, माटोलाई लोप हुनबाट जोगाउनको लागि ८० राष्ट्रहरूले सङ्कल्प गरिसकेका छन् भने भारतका ९ राज्यहरूले आफ्नो राज्यमा माटो जोगाउनको लागि समझौता ज्ञापनपत्रमा हस्ताक्षर गरिसकेका छन् । कमनवेल्थका ५४ वटै राष्ट्रहरूले माटोसम्बन्धी नीति लागू गर्ने उद्घोष गरेका छन्, जसअन्तर्गत ९ राष्ट्रहरूले समझौता पत्रमा हस्ताक्षर गरेका छन् । पर्यावरणसम्बन्धी कार्यहरूमा अग्रसर अन्तर्राष्ट्रिय सङ्गठनहरू जस्तै कि आईयूसीएन संयुक्त राष्ट्रसङ्घका संस्थाहरू - यूएनसीसीडी, डब्ल्यूएफपी तथा अन्य संस्थाहरू पनि यस अभियानसँग साझेदारी गर्न अग्रसर भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।