दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्दै

 भदौ २०, २०७९ सोमबार ८:४५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् ।

पार्टीका स्थानीय कमिटी र जिल्लाले उम्मेदवारहरुको नाम प्रदेश हुँदै केन्द्रमा पठाउन थालेका छन् । कतिपय ठाउँमा एकल नाम सिफारिस भएको छ भने धेरै ठाउँमा दुईभन्दा बढी नाम सिफारिस भएका छन् ।

कतिपय शीर्ष नेताहरु चाहिँ एकभन्दा बढी क्षेत्रबाट सिफारिसमा परेका छन् । सिट बाँडफाँटमा सहमति हुन बाँकी रहँदा गठबन्धनका दलहरुभित्रबाट पनि उम्मेदवार सिफारिस भइरहेको छ । स्थानीय कमिटीले उम्मेदवार बन्न खोज्नेहरुको नाम समेटेर प्रदेश र केन्द्रमा पठाएपछि केन्द्रले निर्णय गर्नेछ । 

अहिलेसम्म मुख्य पार्टीका धेरैजसो शीर्ष नेताहरुको नाम सिफारिस भइसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ, उहाँको नाम सिफारिस हुन बाँकी छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराबाट तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन-३ र गोरखा-१ बाट उम्मेदवार सिफारिस हुनुभएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाण्डौ-२, रौतहट-१ र ४ बाट सिफारिस हुनुभएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सिरहा-१ र २, बारा-२ र मोरङ-५ बाट सिफारिस हुनुभएको छ । 

यसैगरी एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाण्डौ-५ बाट, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ बाट र नेता शेखर कोइराला मोरङ-६ बाट सिफारिस हुनुभएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२, उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन-१, उपाध्यक्ष युवराज ज्ञवाली दाङ-३ र महासचिव शङ्कर पोखरेल दाङ-२ बाट सिफारिस हुनुभएको छ ।

कांग्रेस उपभासपति पूर्णबहादुर खड्का सुर्खेत-१ र उपसभापति धनराज गुरुङ स्याङ्जा-१, महामन्त्री गगन थापा काठमाण्डौ-४ र विश्वप्रकाश शर्मा झापा-१ बाट सिफारिस भएका छन् । यस्तै सभामुख अग्निप्रसाद सापकोटालाई माओवादी केन्द्रले सिन्धुपाल्चोक-१ बाट सिफारिस गरेको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया