आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न सकिँदैन : मन्त्री बडू

 भदौ २९, २०७९ बुधबार १८:४३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न नसकिने बताउनुभएको छ । 

बुधवार उद्योग मन्त्रालयमा प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रममा बोल्दै उद्योगमन्त्री बडूले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय देश आयातमा निर्भर भएको अवस्थाामा उत्पादन र उपभोग बढाउन सकिएन भने देशको अर्थतन्त्र धरासायी हुने बताउनु भयो । मन्त्री बडूले सरकारले अहिले भइरहेको आयात कम गर्न नसके अर्थतन्त्रलाई माथि उकास्न नसकिने दाबी गर्नुभयो । उहाँले देशको अर्थतन्त्र सुधारका लागि प्रधानन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने बताउनु भयो । उहाँले नेपाल कृषिमै परनिर्भर भएको अवस्थामा समग्र अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको अहम भूमिका हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘आयातमा निर्भर हुने अर्थतन्त्रलाई उकास्नको निम्ति देश भित्रको उद्योगलाई व्यापक रुपमा बढाउन सकेनौं र रोजगारी सिर्जना गर्न सकेनौं र नेपाली उत्पादन वस्तुहरुको उपभोग पनि बढाउन सकेनौं भने सरकारले आयातलाई व्यवस्थापन गर्न नसक्ने निस्कर्ष रहेको छ । सरकार क्रमशः आयातलाई प्रतिस्थापन गर्ने रणनीतिमा जान सकेनौं भने देशको अर्थतन्त्र उकास्न सकिँदैन । यो एउटा योजना एउटा आर्थिक वर्षमा नै पूरा हुन्छ भन्ने होइन । तर केही वर्षभित्र देशको आर्थिक अवस्था सुधार गर्नको लागि प्रधानमन्त्रीसँग जोडेर प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा अगाडि बढाएको हो । देशको अर्थतन्त्र सुधार गर्नको लागि प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणालाई प्राथमिकता मानेका छौं । १० वर्षमा एउटा परिणामा पुग्न सक्छौं ।’

मन्त्री बडूले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमको निरन्तरताले करिब १० वर्षमा उद्योगको क्षेत्रमा एउटा परिणाम ल्याउने बताउनु भयो । 
 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया