कात्तिकदेखि वाग्मतीमा सफा पानी : धाप परियोजनाको ९८ प्रतिशत काम सकियो

 असोज ३, २०७९ सोमबार १२:३०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - वाग्मती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आउँदाे कात्तिकदेखि वाग्मती नदीमा सफा पानी बग्ने भएको छ । काठमाण्डाै उपत्यकाकै आकर्षक वाग्मती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने वाग्मती धाप परियोजनामा जम्मा गरिएको पानी आउँदाे असोज २९ गतेपछि वाग्मती नदीमा पठाउने तयारी भइरहेको छ । 

समुद्री सतहदेखि दुई हजार ८० देखि ९० मिटरको उचाइमा मानव निर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मानिएकाे छ । साथै यो धाप नेपालमै पहिलो सीएफआरडी ड्याम पनि हो । उपत्यकाको उत्तरपश्चिम चुचुरो मूलखर्क गाउँको सिरानमा बनिरहेको कृत्रिम ताल निर्माणको लागत ४५ करोड रुपैयाँ हो । यो ताल आठ हेक्टर अर्थात १५८ रोपनीमा फैलिएको छ । सन् २०१५ देखि ड्यामको काम सुरु गरिएको थियो ।

यो धापमा २४ मिटर अग्लो बाँध हुने र बाँधमा वर्षायाममा परेको पानी र विभिन्न जलाधार क्षेत्रबाट आएको पानी सङ्कलन गरिनेछ । यो क्षेत्र आफैँमा धाप क्षेत्र पनि हो । निर्माण हुँदै गरेको धाप बाँधबाट सुक्खायाममा प्रतिसकेण्ड ४० लिटरका दरले वाग्मतीमा आठ महिनासम्म पानी छोड्न मिल्नेछ । 

ढलको व्यवस्थापन प्रभावकारी हुनसके र सँगसँगै फोहर व्यवस्थापन भएको खण्डमा यसबाट वाग्मतीको शिरदेखि चोभारसम्म नै सफा पानी बग्नेछ  । आयोजनाका प्रमुख इञ्जिनियर निश्चल छतकुलीले काठमाण्डाै उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दिनानुदिन घट्दै गइरहेको अवस्थालाई मध्यनजर गरेर धाप निर्माण गरेको बताउनु भयो । 

उहाँले वाग्मतीमा पानीको बहाव र पानीको गुणस्तर बढाउनको लागि विभिन्न ठाउँमा धापहरुको निर्माण गरी स्नानयोग्य बनाउने उद्देश्यले धाप निर्माण गरेको बताउनु भयो । धापबाट वाग्मतीमा पानी पठाइसकेपछि पनि नुहाउनयोग्य बनाउनको लागि ४ सय ५० लिटरजति सफा पानी मिसाउनुपर्ने जायिकाको अध्ययनले देखाएको  छ।

एसियाली विकास बैंकको ऋण सहयोगमा यो अभियान सुरु भएको हाे ।अहिले मुख्य ड्याम र सहायक ड्यामहरु पनि निर्माण गरी पानी जम्मा गर्न सुरु गरिएको छ । सुरुमा ८ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भने पनि अहिले त्योभन्दा धेरै मात्रामा जम्मा गर्न सकिने कुरा अध्ययनले देखाएको छ । 

उहाँले भन्नुभयो, ‘गोकर्णेश्वर वडा नम्बर १ मा रहेकाे शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिएको धाप हो । वाग्मतीमा पानीको बहाव र पानीको गुणस्तर बढाउनको लागि विभिन्न ठाउँमा प्लान्टहरु बनाउनुपर्ने र प्लान्टबाट वाग्मतीमा पठाइसकेपछि पनि नुहाउनयोग्य बनाउनको लागि ४५० लिटरजति फ्रेस वाटर मिसाउनुपर्ने जायिकाको अध्ययनले देखाएकाे छ ।'

अहिले २०८३ दशमलव ५ प्रतिशत जतिको हाराहारीमा पानीको लेभल पुगिसकेको छ। यसमा ८ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भने पनि त्योभन्दा धेरै पानी उपलब्ध हुने अध्ययनले देखाएको छ ।

वाग्मती धाप आयोजना धाप क्षेत्र पर्यटन प्रवर्द्धनको लागि पनि मुख्यस्थल बन्ने अध्ययनले देखाएको प्रमुख इञ्जिनियर छतकुलीले बताउनु भयो । जसकारण पनि पर्यटनकाे गुरुयोजना बनाएर नै काम अघि बढाउने तयारी भइरहेको उहाँको भनाइ छ । भ्याटबाहेक ४५ करोड रुपैयाँ र भ्याटसहित जोड्दा ५१ करोड रुपैयाँभन्दा बढी लागतमा धाप निर्माण सुरु गरिएको हाे ।  अक्टोबर १५ पछि वाग्मतीमा धापको पानी प्रवाह गर्ने योजना रहेको उल्लेख ग‍रिएकाे छ । 

८ महिना ४० लिटर बगाउनसक्ने अनुमान गरेर धाप निर्माण गरे पनि नाग्मती धाप निर्माण नहुँदासम्म योजना अनुसारको पानी प्रवाह गर्न नसकिने उहाँले बताउनु भयो । उहाँले वाग्मती ड्याम नबनुन्जेलसम्म ४० लिटर मात्रै पठाउनसक्ने र सीमित पानीले अनुभव गर्नसक्ने गरेर वाग्मतीमा पानी प्रवाह नहुने बताउनु भयो । पशुपति क्षेत्र विकास कोषसँग पनि समन्वय गरेर पशुपतिनाथ मन्दिर परिसरमा वर्षको २७ दिन, विशेष पर्वहरुमा ४ सय लिटर नै पानी पठाउने बारेमा सहमति भएको छतकुलीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पर्यटन गुरुयोजना बनाएर नै काम अघि बढाउनेछौँ । एसियाली विकास बैंकको ऋण सहयोगमा धाप ड्याम निर्माण भएको हो । भ्याटबाहेक ४५ करोड, भ्याटसहित ५१ करोड रुपैयाँ लगानी हुने भएकाे छ ।  ८४ प्रतिशत ऋण र बाँकी १६ प्रतिशत नेपाल सरकारले बेहोर्ने गरेर काम सुरु भएको हाे । फिल्डमा गर्नुपर्ने कामहरु प्रायजसाे सकिएको छ । अक्टोबर १५ पछि वाग्मतीमा धापको पानी प्रवाह गर्ने योजना छ । ८ महिना ४० लिटर बगाउनसक्ने अनुमान छ ।'

प्रमुख इञ्जिनियर छतकुलीले धाप ड्याम नजिकै शिवपुरी निकुञ्ज क्षेत्रमा अर्को बाँधको अध्ययन र विस्तृत डिजाइन वातावरणीय अध्ययन भइरहेको पनि बताउनु भयो । धाप ड्याममा जम्मा भएको पानी नाग्मतीको ड्याममा जम्मा भएपछि क्रमशः पानी छोड्दै जाँदा वाग्मतीमा मिसिन्छ । यो पानीबाट विद्युत् निकाल्ने उद्देश्य रहेको छ भने वाग्मती नदीको सफाइ गर्ने अभियान पनि यसैसँग जोडिएको छ । प्रस्तावित नाग्मती बाँध ९० मिटर अग्लो हुनेछ र यसले ८० लाख घनमिटर पानी जम्मा गर्ने क्षमता राख्नेछ । यो बाँधबाट चार मेगावाट विद्युत् उत्पादन गर्न सकिनेछ भने त्यसले जलाधार क्षेत्र र उपत्यकामा जमिनमुनिको पानी पुनःभरण गर्न ठूलो सहयोग गर्नेछ । सुन्दरीजलबाट नाग्मती ड्याम पुग्न पाँच किलोमिटर मात्र छ । यी दुई बाँधको आकर्षणले गोकर्णेश्वर नगरपालिकाको पर्यटन व्यवसाय फस्टाउने अनुमान छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया