निजगढ विमानस्थल नेपालले बनाउन सक्दैन भनेर गलत प्रचार भइरहेकाे छ : महानिर्देशक अधिकारी

‘विमानस्थल सरकारकै लगानी र नेपाली प्राविधिकबाट बन्छ’

 असोज ५, २०७९ बुधबार १५:१९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल सरकारको लगानीमा बनाउने बताउनुभएको छ । 

बुधवार न्युज एजेन्सी नेपालसँ कुरा गर्दै महानिर्देशक अधिकारीले प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल कुनै पनि विदेशी लगानीविना नेपाल सरकारकै लगानी र नेपाली प्राविधिकहरूबाट नै बनाउने बताउनुभएको हो । विमानस्थल नेपाली प्राविधिक र सरकारले बनाउन नसक्ने भनेर गलत प्रचार भइरहेको भन्दै उहाँले त्यसको खण्डन पनि गर्नुभयो । 

महानिर्देशक अधिकारीले निजगढ विमानस्थल विज्ञ समूहले दिएको सुझावको आधारमा सरकार र प्राधिकरण आफैँले बनाउने जिकिर गर्नुभयो । उहाँले विमानस्थल बनाउन ६० प्रतिशत नेपाल सरकारले र ४० प्रतिशत प्राधिकरणले लगानी गर्ने विज्ञ समूहको समेत सुझाव रहेको सुनाउनुभयो । 

उहाँले भन्नुभयो, ‘नेपालले निजगढ विमानस्थल बनाउन सक्दैन भनेर बाहिर धेरै प्रचारप्रसार गरिएको छ । तर निजगढ विमानस्थल नेपाली प्राविधिकले बनाउनै नसक्ने विषय होइन । अन्य ठूला–ठूला आयोजनामा लगेर जोडेजस्तै जोड्ने होइन । निजगढ विमानस्थललाई एक खर्ब २० अर्ब रुपैयाँ भनेका छौँ । नेपालले बनाउन सक्दैन भन्ने सोचाइ परिर्वतन गर्नु जरुरी छ । विज्ञ समूहले पनि स्पष्ट मोडालिटी दिएको छ । यो योजना नेपाल आफैँले गर्न सक्छौँ । यो नै सरकारको प्रतिबद्धता हुनुपर्छ । हुने पनि छ ।’

महानिर्देशक अधिकारीले विमानस्थल बनाउने लागतका हिसाबले जङ्गल कटानदेखि अन्य निर्माणका लागि सात वर्षको समय अवधिमा एक खर्ब २० अर्बका लागि वार्षिक १७ अर्ब रुपैयाँ जम्मा गर्दा पुग्ने बताउनुभयो । यसमा १० अर्ब सरकारले र सात अर्ब प्राधिकरणले लगानी गरेर विदेशी लगानीकर्ता नखोजी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सक्ने बताउनुभयो । 

न्युज एजेन्सी नेपालसँगको कुराकानीकै क्रममा महानिर्देशक अधिकारीले नेपालमा विकास निर्माणसम्बन्धी ऐनलाई नै संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले निजगढ अन्तरौष्ट्रिय विमानस्थल आवश्यकता भएर खर्बाैँ रुपैयाँ खर्च भएको दाबी गर्नुभयो । प्रस्तावित स्थानमा विमानस्थल बनाउन उपयुक्त हो वा होइन भन्ने विषयमा अझै पनि वृहत् छलफल गर्नुपर्ने उहाँको भनाइ छ । 

महानिर्देशक अधिकारीले पछिल्लो समय नेपालमा वार्षिक १० लाख हवाई यात्रु बढ्दै गएको बताउनुभयो । अब एसिया प्यासेफिक क्षेत्रमा नै हवाई यात्रु बढ्दै जाने देखिएको उहाँको भनाइ छ । उहाँले अन्तर्राष्ट्रिय वा आन्तरिक विमानस्थल क्षणिक समयका लागि नभएर आवश्यकतालाई हेरेर ५० वर्षको योजनामा बनाउनुपर्ने बताउनुभयो । 

महानिर्देशक अधिकारीले विमानस्थल सञ्चालनमा आएको भोलिपल्ट नै पूर्णरूपमा सञ्चालनमा आउन नसक्ने बताउनुभयो । पूर्णरूपमा सञ्चालनमा आउनका लागि समय लाग्ने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया