काठमाण्डाैबाट हुँदै आएकाे लुक्ला उडान अब मन्थलीबाट

 असोज ६, २०७९ बिहिबार १९:१२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

मन्थली विमानस्थल

रामेछाप – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको लुक्ला उडान अब रामेछापको मन्थली विमानस्थलबाट हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले केही समय अगाडि नै काठमाण्डाै–लुक्ला उडानलाई मन्थली विमानस्थलबाट रामेछाप–लुक्ला उडान सुरु गर्ने निर्णय गरेको हो । प्राधिकरणको निर्णयअनुसार रामेछाप–लुक्ला उडानका लागि विमानस्थलमा आवश्यक पर्ने संरचना तथा सेवा, सुविधाका लागि विमानस्थल निर्माणको काम भइरहेको छ । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले समेत असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तयारी गरिसकेका छन् । 

बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले रामेछाप मन्थली विमानस्थलको स्थलगत निरीक्षण गरेकाे छ । रामेछाप–लुक्ला नियमित उडानका लागि मन्थली विमानस्थल व्यवस्थित भए/नभएको बारेमा मन्त्रीसहितकाे टाेलीले स्थलगत निरीक्षण गरेकाे हाे । 

मन्थली विमानस्थलको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले प्राधिकरणले लुक्ला उडानलाई रामेछाप मन्थली विमानस्थललाई बेस बनाएर रामेछाप–लुक्ला उडानलाई व्यवस्थित बनाउने बताउनुभयो । उहाँले विमानस्थल विस्तारको काम सकारात्मक रहेको भन्दै हवाई यात्रुका लागि विमानस्थलमा आवश्यक संरचना निर्माण गरिने बताउनुभयो । 

मन्त्री श्रेष्ठले विदेशी तथा स्वदेशी नागरिक विमानस्थलमा आउने वातावरण बनाउन विमानस्थलमा सेवा, सुविधा व्यवस्थित बनाउन निर्देशन दिनुभयो । सरकारले मन्थली विमानस्थललाई व्यवस्थित गर्ने काममा कुनै कमी हुन नदिने उहाँकाे भनाइ छ । 

बिहीवार नै मन्त्री श्रेष्ठले दाङको टरिगाउँ विमानस्थलको पनि निरीक्षण गर्नुभएको छ । मन्त्री श्रेष्ठले विमानस्थलमा पुगेर दाङको जनधनत्व र सहरीकरण बढ्दै गएकाले विमानस्थलमा ७२ सिट क्षमताको जहाज अवतरण गर्ने गरी धावनमार्ग बनाउनुपर्छ भनेर प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले वर्तमान सरकारले एउटा जिल्लालाई मात्रै साधन, स्रोत बनाउनेभन्दा पनि सबै जिल्लामा समानुपातिक स्रोत, साधनको विकास गर्ने उद्देश्य रहेको बताउनुभयो । अघिल्लो सरकारले सबै स्रोत र साधन झापा जिल्लामा मात्रै लगेको उहाँकाे आरोप छ । 

मन्त्री श्रेष्ठले विमानस्थल विस्तार गरेर नियमित उडानका लागि धेरै समय दाङवासी निराश हुन नपर्ने बताउनुभयो । उहाँले काठमाण्डाै पुगेपछि विमानस्थलको बारेमा अर्थमन्त्रीसँग बजेट सुनिश्चितताका लागि कुरा गर्ने आश्वासन दिनुभयाे । नेपालको भौगोलिक अवस्थाका कारण सबै क्षेत्रलाई जोड्न हवाई सेवा उपयुक्त रहेकाले देशका विभिन्न ठाउँमा विमानस्थल बनाउन लागिएको उहाँकाे भनाइ छ । 

दाङको टरिगाउँ विमानस्थल वि.सं. २०१७ सालदेखि सञ्चालनमा आए पनि समयमा नै स्तरवृद्धि हुन नसक्दा नियमित उडान हुन सकेको छैन । स्थानीयवासीले विमानस्थल सञ्चालनमा ल्याउन माग गर्दै आएका छन् । विमानस्थल नजिकै प्युठानकाे स्वर्गद्वारी जस्ता महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रहरू रहेका छन् । तर टरिगाउँ विमानस्थल प्रत्येक चुनावमा एजेन्डा बन्ने गरेकाे भए पनि निर्माण हुन सकेकाे छैन । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया