कोटेश्वर–सूर्यविनायक सडकमा स्मार्ट बत्ती, झिलिमिली बन्यो सडक (तस्बिरसहित)

 असोज ११, २०७९ मंगलबार १३:३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले आफ्नै खर्चमा काठमाण्डाैकाे कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राधिकरणले कोटेश्वर–सूर्यविनायक सडक खण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप/आइल्यान्डमा बत्ती जडान गरी सञ्चालनमा ल्याइएको छ ।  

आइल्यान्डमा राखिएका पोलहरूमा प्राधिकरणले १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट बत्ती जडान गरी सञ्चालनमा ल्याएपछि कोटेश्वर–सूर्यविनायक सडक खण्ड झिलिमिली बनेको छ । कम बिजुली खपत गर्ने तर उज्यालो बढी दिने झन्डै चार सय ५० वटा बत्ती जडान गरिएको हो । यसबाट सडकको रात्रिकालीन सौन्दर्यता देख्न सकिने छ ।

काठमाण्डाै महानगरपालिका, मध्यपुर थिमि र भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक बत्तीकाे महसुल तिर्ने व्यवस्था गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गर्न स्मार्ट स्ट्रिट लाइट जडान गरिएको बताउनुभयो । ‘सडक बत्ती जडान भएपछि पैदल यात्रु र चालकलाई फाइदा पुगेको छ, उज्यालो भएपछि सडक सुरक्षित बनेको छ, साथै सडक सुन्दर बनेको छ,यसबाट सहरी सौन्दर्यता पनि बढेको छ ।’

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालितरूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । कोटेश्वर–सूर्यविनायक सडक खण्डका लागि १३ वटा फिडर प्यानल जडान गरिएको छ । सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ ।

स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट बिजुलीकाे महसुलको बिलिङ गरिन्छ । बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ ।

प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरूसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय ठाउँहरूमा सजावटयुक्त आधुनिक बत्ती जडान गरिरहेको छ । यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, बिजुलीकाे माग बढ्ने र रातिको खेर जाने बिजुली पनि खपत हुने प्राधिकरणको विश्वास छ ।
पालिकाहरूको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान भइरहेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया