पोखरा विमानस्थलमा पर्यटकलाई बाजागाजासहित स्वागत (तस्बिरहरू)

 असोज ११, २०७९ मंगलबार १३:५१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – ४३ औँ पर्यटन दिवसकाे अवसर पारेर आज मङ्गलवार पोखरा भित्रिने पर्यटकलाई स्वागत गरिएको छ । गण्डकी प्रदेशकाे पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा आज मङ्गलवार पोखरा विमानस्थलमा पहिलो उडानमार्फत पोखरा पुगेका पर्यटकलाई बाजागाजासहित स्वागत गरिएको हो । 

कार्यक्रममा पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, पर्यटन बाेर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी र पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले खादासहित सम्मान गर्नुभयो । त्यस अवसरमा पोखरामा रहेका विभिन्न पर्यटक सम्बद्ध सङ्घ–संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार विमानबाट पहिलो ओर्लने भारतीय पर्यटक भारती पाण्डे, दोस्रो स्पेनका नागरिक इर्न अर्टिज रोबियो र तेस्रो स्पेनकै जेन्से कार्कोसलाई खादा र प्रमाणपत्रसहित स्वागत गरिएको हो । 

त्यस्तै पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले काठमाण्डाै आउने विभिन्न अन्तर्राष्ट्रिय एअरलाइन्स कम्पनीका प्रतिनिधिलाई पोखरा विमानस्थल अवलोकनका लागि बोलाइएको र पर्यटन प्रवर्द्धनकाे बारेमा छलफल गर्ने बताउनुभयो । 

अध्यक्ष श्रेष्ठले उनीहरू तीन जनासहित पहिलो उडानमार्फत पोखरा भित्रने पर्यटकका लागि विभिन्न प्याकेजमा छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो । पर्यटन दिवसको अवसर पारेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन, अन्तरक्रियासँगै पोखराको राष्ट्र बैंक चोकमा रहेकाे पर्यटन बसपार्कमा बसमा यात्रा गरेर आउने पर्यटकलाई स्वागत गरिएको छ ।

यसका साथै पोखरामा रहेका पर्यटन सम्बद्ध सङ्घ–संस्थाले विभिन्न कार्यक्रम गरेर विश्व पर्यटन दिवस मनाउँदैछन् । उनीहरूले नयाँ विमानस्थल छिटो सञ्चालनमा ल्याउनसमेत माग गरेका छन् । आज बेलुकीका लागि पोखराको लेकसाइडमा मिनी सडक महोत्सवको आयोजना गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया