कांग्रेस भित्रै विद्रोह गर्नुपर्ने बेला आएकाे छ : गगन थापा

 असोज १४, २०७९ शुक्रबार ११:४५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस भित्र नै विद्रोह गर्नुपर्ने बेला आएको बताउनुभएको छ । शुक्रवार आज काठमाण्डाैमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

महामन्त्री थापाले नेपाली कांग्रेस भित्र सही ढङ्गबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको बताउनु भयाे । उहाँले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीहरु चुनावको गोलचक्करमा मात्रै सीमित भएको दाबी गर्नुभयो । 

महामन्त्री थापाले पार्टी भित्रका नेताहरुले नै पार्टीमा न्याय, सन्तुलन, पार्टीभित्र सबैलाई सही ढङ्गले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको भन्दै अब पार्टीभित्र नयाँ खालको सङ्घर्षको आवश्यकता बोध हुन थालेको दाबी गर्नुभयो । उहाँले युवाहरुको समर्थनले आफूमा यस्ता विकृतिहरुलाई चिर्ने शाहस थपिएको भन्दै युवाहरुलाई निराश नबनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

महामन्त्री थापाले भन्नुभयो, ‘हामीले आफ्नै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफ्नै पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आएको छ । हाम्रो आफ्नै पार्टीभित्र सन्तुलन भएन, पार्टी भित्र सबैलाई सही ढङ्गले हेरिएन भन्नेछ।’

महामन्त्री थापाले सरकारले डेङ्गी नियन्त्रणलाई प्राथमिकता नदिएको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले सरकार मात्र चुनाव लगायत अन्य कुरामा केन्द्रित भएको र जनताको स्वास्थ्योपचारमा उदासिन बनेको बताउनु भयो । 

उहाँले पूर्ववर्ती सरकारलाई कोरोनाको बेलामा काम भएन भनेर विरोध गरिरहेको तर अहिले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारबाट डेङ्गी नियन्त्रण र न्यूनीकरणका लागि पहल हुन नसकेको बताउनु भयो । महामन्त्री थापाले डेङ्गीका कारण चाडबाडको बेलामा जनजीवन प्रभावित बनेको भन्दै प्रधानमन्त्रीले आपत्कालीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर सङ्क्रमणलाई न्यूनीकरण गर्ने अभियान सुरु गर्नुपर्ने बताउनु भयो ।

उहाँले सरकारसँग देशभरको डेङ्गी सङ्क्रमणलाई कसरी घटाउने, रोकथाम कसरी गर्ने, अस्पतालमा भएका दबाबलाई कसरी कम गर्ने भन्नेबारेमा छुट्टै अभियान सञ्चालन गर्न माग गर्नुभयो । महामन्त्री थापाले सरकारले महामारीको बेलामा अरु कुरालाई प्राथमिकतामा राखेर मुख्य जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउनु भयाे । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया