नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्...
मंसिर २५, २०८० सोमबार
काठमाण्डौ – दशैँ मनाउनका लागि काठमाण्डौ उपत्यका छाडेर जाने यात्रुहरुको कारण आज शनिवार मुख्य नाका विपी राजमार्ग र पृथ्वी राजमार्गमा जाम भएको छ ।
बिहान काठमाण्डौको नागढुङ्गामा गाडीको चाप बढ्दा त्यहाँबाट सुरु भएको जाम थानकोटसम्म आइपुगेका थियो । अहिले पनि थानकोटदेखि नागढुङ्गाको बीचमा गाडी जाम रहेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले उज्यालोलाई जानकारी दिनुभयो ।
दिउँसो नागढुङ्गा र थानकोटको बीचमा गाडी बिग्रिएको कारण गाडीको जाम बढेको हो । यस्तै कोटेश्वरहुँदै विपी राजमार्गमा जाने गाडीको कारण बिहान कोटेश्वरदेखि अगाडि धुलिखेलहुँदै भकुञ्डेबेसीसम्म गाडीको जाम भएको छ ।
सामान्य अवस्थामा भन्दा आज झण्डै पाँच गुणा धेरै गाडी उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ । बाटोमा कतै अवरोध नभए पनि सडकमा गाडी धेरै हुँदा जाम बढी भएको हो ।
दशैँ सुरु भएपछि घटस्थापनादेखि काठमाण्डौ उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढिरहेको छ । बुधवार ६० हजार यात्रुले उपत्यका छाडेका थिए । यस्तै बिहीवार ७१ हजार ७ सय र हिजो ८४ हजार यात्रुले उपत्यका छाडेको कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिनुभयो ।
आज अहिलेसम्ममा डेढ लाखभन्दा धेरैले उपत्यका छाडेको अनुमान गरिएको उहाँले बताउनुभयो । यो संख्या सार्वजनिक गाडीमा यात्रा गर्नेहरुको हो । निजी गाडी तथा मोटरसाइकलमा उपत्यकाबाट बाहिरिनेहरुको संख्या पनि सार्वजनिक गाडीमा बाहिरिने बराबर जस्तै रहेको उहाँले बताउनुभयो ।