पश्चिम तराईमा अविरल वर्षा

 असोज २१, २०७९ शुक्रबार २०:७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा केही दिनयताकाे अविरल वर्षाका कारण बस्ती डुबानमा पर्ने खतरा बढेकाे छ । वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भू–भाग डुबानमा पर्ने जोखिम देखिएको हो । 

गएकाे मङ्गलवार बेलुकादेखि परेकाे पानीले गर्दा बडादशैँ पनि राम्रोसँग मनाउन नसकेको स्थानीयवासी बताउँछन् । देशभर नै चाडपर्वको समयमा आफन्त, इष्टमित्र, मान्यजनको हातको टीका थाप्न र आशीर्वाद लिन जानका लागि पानीले समस्या भएकाे छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलाे पानी पर्ने सम्भावना रहेकाे विभागले जनाएकाे छ ।

तीन दिनदेखि परेको पानीका कारण देशभरका विभिन्न सडक बन्द हुँदा दशैँ मनाउन गाउँ गएकाहरू सहर फर्किन पाएका छैनन् भने गाउँमै दशैँको टीका ग्रहण गर्न पनि आफन्तकोमा जान समस्या परेकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया