मङ्सिर ४ गतेको चुनावले अर्थतन्त्र चलायमान बनाउन सक्दैन : पूर्वगभर्नर नेपाल

 असोज २५, २०७९ मंगलबार १६:४८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन समयमा हुने आर्थिक गतिविधिले देशको अर्थतन्त्रमासमेत दुई प्रतिशतसम्म आर्थिक वृद्धि हुने विभिन्न अध्ययनले देखाएको छ । विगतमा नेपालमा पनि चुनावताका हुने आर्थिक गतिविधिले अर्थतन्त्रलाई चलायमान बनाएको देखिन्छ । राजनीतिक दलका उम्मेदवारले चुनाव जित्नका लागि अत्यधिक पैसा खर्चिने गर्दछन् । चुनावमा प्रयोग हुने खाद्य सामग्री र गाडीमा खर्च गर्दा आर्थिक गतिविधि चलायमान बन्छ । चुनावकाे समयमा आर्थिक गतिविधि बढी चलायमान हुने भएकाले अर्थतन्त्र पनि त्यहीअनुसार चलायमान बन्ने आँकलन गरिन्छ । 

यसैबीच आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका कारण भने देशकाे अर्थतन्त्र खासै सुधार नहुने विज्ञहरू बताउँछन् । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले आउँदाे मङ्सिर ४ गतेको चुनावले देशको अर्थतन्त्रमा सुधार नहुने बताउनुभयो ।

आज मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्वगभर्नर नेपालले विगतका चुनावमा भएका आर्थिक गतिविधिले अर्थतन्त्र चलायमान बनाउने गरेको भए पनि आउँदाे मङ्सिर ४ गते हुने चुनावले अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने अवस्था नभएको दाबी गर्नुभयो । उहाँले एक वर्षदेखि बजारमा देखिएको तरलता अभाव सहजता हुने आँकलन गरिए पनि आउँदाे चुनावमा बजारमा देखिएको तरलता सहज हुने अवस्था नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रियरूपमा हेर्दा चुनावले देशकाे अर्थतन्त्रमा केही फरक पार्ने गरेको छ । मलेसियाले गरेकाे २० वर्षको अनुसन्धानअनुसार चुनावकाे बेलामा आर्थिक क्रियाकलाप बढ्नाले एकदेखि दुई प्रतिशतसम्म आर्थिक वृद्धि पनि भएको देखिन्छ । विगतका चुनावमा नेपालमा पनि आर्थिक गतिविधि चलायमान भएकाे थियाे । आउँदाे चुनावमा अर्थतन्त्र चलायमान बन्न सक्ने अवस्था छैन । किनकि बजारमा तरलता अभाव छ । सरकारले गर्न लागेका विकास निर्माणको काम तथा नीतिगत निर्णयहरू पनि रोकिने गर्छन् । आयोजनाहरू पनि पूरा हुँदैनन् । हाम्रोजस्तो देशमा चुनावले अर्थतन्त्रलाई दबाब दिने हुन्छ । विगतका चुनावलाई हेर्दा आर्थिक गतिविधिले अर्थतन्त्रमा सहज हुन्छ, उत्पादनमा वृद्धि र उपभोग पनि बढ्छ भन्ने हो । तर अहिले बजारमा एक वर्षदेखि तरलताको अभाव भइरहेको छ । तत्काल तरलता सहज हुने अवस्था छैन ।’

पूर्वगभर्नर नेपालले आउँदाे चुनावले बजारको तरलता अभावसमेत तत्कालै समधान गर्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले यस पटकको प्रतिनिधि र प्रदेश सभा चुनावमा अघिल्लो चुनावमा जस्तो आर्थिक गतिविधि बढ्न सक्ने अवस्था नरहेको जिकिर गर्नुभयो ।

डा. नेपालले बैंकहरूको निक्षेपमा राखिएको पैसासमेत बाहिर जाने भएकाले चुनावकाे समयमा राष्ट्र बैंकलाई तरलतालाई स्थिर राख्न समस्या हुने पनि बताउनुभयो । उहाँले राष्ट्र बैंकले बजारमा तरलता व्यवस्थापन गर्नका लागि बैंकहरूको सिडी रेसियोमा केही लचकता अपनाउन सुझाव दिनुभयो । उहाँले बजारमा तरलता अभाव देखिने बित्तिकै अनौपचारिक क्षेत्रमा खर्च बढ्ने डर रहेको बताउनुभयो । अनौपचारिक क्षेत्र फस्टाउँदा देशको अर्थतन्त्र कता जान्छ भन्ने थाहा पाउन गाह्रो हुने उहाँकाे भनाइ छ । 

पूर्वगभर्नर नेपालले मौद्रिक नीतिमार्फत कर्जा विस्तार १२.५ बनाएर नगन्य बनाएको बताउनुभयो । उहाँले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जा विस्तार १२ प्रतिशत बनाएकाले अर्थतन्त्र ठप्पजस्तै भएको बताउनुभयो । चुनावकाे समयमा कालो धन आउन सक्ने सम्भावना प्रशस्त रहेको बताउँदै उहाँले कालो धन बैंक तथा वित्तीय संस्थाहरूमा भने नआउने उल्लेख गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया