कर्णालीमा भएको यातायात तथा हवाई सेवाको असुविधाबारे मानव अधिकार आयोगको ध्यानाकर्षण

 कात्तिक ४, २०७९ शुक्रबार ७:३६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय मानव अधिकार आयोगले केही दिनदेखि जुम्ला, मुगु, हुम्ला र डोल्पामा हवाई सेवा प्रभावित भइ आवतजावतमा कठिनाइ उत्पन्न भएको अवस्थाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बाढीपहिरोका कारण कर्णाली प्रदेशको कर्णाली राजमार्ग असोज २१ गतेदेखि अवरुद्ध रहनुका साथै जुम्ला, मुगु, हुम्ला र डोल्पामा केही दिनदेखि हवाई सेवा प्रभावित छ ।

यसले नागरिकलाई आवतजावतमा कठिनाइ भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत् जनाएको छ ।

आयोगले आवत जावतमा देखिएको समस्याका कारण दशैँ मनाउन घर गएका नागरिक गन्तव्य स्थलमा फर्किन नपाएको, परीक्षार्थी परीक्षा स्थलमा पुग्न नपाएको, आकस्मिक उपचार आवश्यक पर्ने बिरामी तथा राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी समस्यामा परेको, हुम्लामा चामलको भण्डारण सकिएको र जुम्लामा झण्डै सात सय र मुगुमा १ सय ५० जना नागरिक अलपत्र रहेको पाइएको जनाएको छ ।

आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग छलफल गरेको तथा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग आवश्यक जानकारी लिएको समेत जनाएको छ ।

कर्णालीमा अलपत्र नागरिक विशेष गरी सुत्केरी, गर्भवती, बिरामी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, परीक्षार्थीलाई तत्काल विशेष व्यवस्था गर्ने, वायुसेवा कम्पनीलाई जिम्मेवार बनाउने, उडान सङ्ख्या थप गर्ने, उडान नियमित गर्ने, हवाई टिकट पारदर्शी बनाउने, टिकट वितरण प्रणाली पहुँचयुक्त बनाउने, दुर्गम पहाडी तथा हिमाली जिल्ला हवाई सेवा समस्या समाधानका लागि तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने नीतिगत तथा कार्यगतलगायतका विषयमा आयोगले प्राधिकरणलाई अनुरोध समेत गरेको छ ।
 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया