महाकविको एक सय १४ औं जन्मजयन्ती मनाइँदै

 कात्तिक ७, २०७९ सोमबार १०:२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । 

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको  डिल्लीबजारमा भएको थियो ।

दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभएको छ । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउनुभयो । 

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्तरूपसँग तुलना गर्नुभएको थियो भन्ने मान्यता छ ।

नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताउनुभएको थियो ।

विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँले महत्वपूर्ण योगदान दिनुभएको थियो ।

महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चार्ल्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गर्नुभयो ।

विसं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुनुहुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराउनु भएको थियो ।

हाल त्रिभुवन विश्वविद्यालय रहेका कीर्तिपुरको जग्गा पनि उहाँकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो । जसले विश्वविद्यालयको पूर्वाधारका लागि काम गरेको छ । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन मानिन्छ ।
    
    

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया