कराेडौँ रुपैयाँ लगानीमा निर्माण गरिएकाे पार्क झाडीमा परिणत हुँदै

 कात्तिक ११, २०७९ शुक्रबार ११:४३:४० | न्युज एजेन्सी नेपाल
unn.prixa.net

रौतहट - करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका-२ मा रहेकाे शहीद स्मृति पार्क अहिले झाडीमा परिणत भएकाे छ । 

संरक्षण र प्रवर्द्धनको अभावमा याे पार्क र त्यहाँका संरचनाहरु दिनानुदिन जीर्ण हुँदै गइरहेका हुन् । पार्कमा धेरैभन्दा धेरै पर्यटक भित्र्याएर पर्यटनको विकास गर्ने लक्ष्य अहिले लक्ष्यमा नै सीमित भएको छ । वनटोल महिला सामुदायिक वनको करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको ‘शहीद स्मृति पार्क’ अहिले झाडीले ढाकिएको छ ।

पार्कका घुम्ने ठाउँमा जताजतै झाडी र फोहर हुँदा अहिले पर्यटकको आवागमन शून्य बराबर छ । पूर्व–पश्चिम लोकमार्गसँगै जोडिएको याे पार्क पिकनिक खाने, घुम्ने पर्यटकहरुकोे लागि नभइ लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुको लागि पनि एकछिन सुस्ताउने राम्रो गन्तव्य बन्ने प्रचुर सम्भावना थियो । त्यसैगरी चन्द्रपुरका स्थानीयहरुलाई मर्निङ वाक गर्न, बालबच्चा घुमाउन, हरियालीमा समय बिताउन पनि पार्क महत्त्वपूर्ण हुनसक्ने स्थानीय प्रह्लाद गौतम बताउनु हुन्छ ।

जताजतै उम्रिएको घाँस र फोहरहरुले गर्दा पार्कमा जान कसैको रुचि नहुने गरेको बताउनु भयो । उहाँले स्थानीयहरु यसलाई जसरी पनि संरक्षण र प्रवर्द्धन गर्नुपर्ने माग गर्दै आइरहे पनि स्थानीय सरकारहरु मौन रहेको बताउनु भयो । उहाँले स्थानीय सरकारले विगत ५ वर्षमा पार्कका लागि जम्मा ५ लाख रुपैयाँ बजेट छुट्याएको बताउनु भयो । 

याे पार्कमा अहिले शहीद स्तम्भ, ४ वटा पोखरी, चिल्ड्रेन पार्क, चौतारा लगायतका संरचनाहरु रहेका छन् । पार्कभित्र रहेको पोखरी अहिले झाडीले पुरिएको छ । पोखरीलाई सफा गरेर माछा पालनसँगै डुङ्गा सञ्चालन गर्नसके पर्यटकको आकर्षण बढ्नसक्ने स्थानीयहरु बताउँछन् । निर्माण अवधिदेखि नै पार्कको स्वामित्वमा विवाद आइरहेको छ । पार्कको व्यवस्थापन अहिले शहीद स्मृति पार्क व्यवस्थापन समितिले गर्दै आइरहेको छ । तर वनटोल महिला सामुदायिक वन उपभोक्ता समूहले भने आफ्नो वन क्षेत्रमा पर्ने भएकाले आफूहरुको त्यसमा निर्विवाद स्वामित्व हुनुपर्ने दाबी गर्नुहुन्छ वनटोल महिला सामुदायिक वनकी अध्यक्ष खड्ग बोम्जन । उहाँले पार्क वन क्षेत्रमा पर्ने भएकाले सामुदायिक वनको स्वामित्व हुनुपर्ने बताउनु भयो ।  

कोरोनाकालमा याे पार्कमा रहेका संरचनाहरुलाई थपघट गरेर आइसोलेशन निर्माण गरिएको थियो । पार्कमा सुरुवाती लगानी बाहेक अहिलेसम्म राज्यका कुनकुन निकायको के कति लगानी भइसकेको छ भने स्पष्ट तथ्याङ्क कसैसँग पनि छैन । केही व्यक्ति र समूहले याे पार्क देखाएर बजेट ल्याउने र खाने भाँडो बनाउने माध्यम बनेको स्थानीयको आरोप छ । यता स्थानीय सरकार भने स्वामित्वको विवादले गर्दा आफूहरुले त्यसमा चाहेर पनि केही गर्न नसकेको बाध्यता रहेको बताउँछ । चन्द्रपुर-२ का अध्यक्ष दुक्तबहादुर थिङ पार्क कसको स्वामित्वमा रहने भन्ने विवादका कारण कुनै पनि काम हुन नसकेको बताउनु भयो । 

बढ्दो सहरीकरणसँगै चन्द्रनिगाहपुर आसपासमा बिस्तारै खुला हरियाली ठाउँको कमी हुँदै गइरहेको छ । राज्यको कराेडौँ लगानी भइसकेको पार्कलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नसके पर्यटकीय स्थलसँगै चन्द्रनिगाहपुरवासीको लागि खुला स्थलको उत्तम विकल्प पनि बन्नसक्ने देखिन्छ । यसको लागि सरोकारवाला सबैको ध्यान जानु अत्यावश्यक देखिएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया