मुस्ताङमा जलवायु अनुकूलन पूर्वाधार विकास गर्न राष्ट्रपति भण्डारीकाे अनुरोध

 कात्तिक १८, २०७९ शुक्रबार १२:५१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकूलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गर्नुभएको छ । आज शुक्रवार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरु वातावरणमैत्री बनाउन आग्रह गर्नुभयो । मुस्ताङवासीको दैनिक जनजीवन पनि जलवायु अनुकूलन र वातावरणमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो । राष्ट्रपति भण्डारीले अहिलेको राम्रो काम भावी पुस्तालाई उपहार हुने भएकाले सबैले सचेत भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले जलवायु अनुकूलन र वातावरणमैत्री व्यवहारका लागि अर्थप्रणालीमा पनि सुधार गरेर जानुपर्ने आवश्यकता औँल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुस्ताङलाई जलवायु अनुकूलन हुनेगरी यहाँको पूर्वाधार विकास र सामाजिक क्रियाकलापहरु सञ्चालन गर्न आवश्यक छ । अहिले जलवायु अनुकूलनमा कार्यक्रम सञ्चालन गर्नु, वातावरणमैत्री निर्माण कार्य सञ्चालन गर्नु र हाम्रो दैनिक जनजीवन पनि त्यो अनुसार गर्नु अत्यन्त आवश्यक छ । यदि भावी पुस्ताका लागि हामीले केही उपहार दिने हो भने हामीले वातावरणमैत्री विकास कार्यहरु, हाम्रो जनजीवनहरु, हाम्रो अर्थप्रणालीलाई त्यसतर्फ हामीले लैजानुपर्ने हुन्छ ।’

राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र एवम् मुक्तिनाथ मन्दिरलाई व्यापक धार्मिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले धार्मिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै भावी पुस्तामा समेत प्राकृतिक सुन्दरतालाई हस्तान्तरण गर्ने उद्देश्य हुनुपर्ने बताउनु भयो ।

ऐतिहासिक सम्पदाको संरक्षणका लागि आवश्यक पूर्वाधारको विकासमा सङ्घ, प्रेदश र पालिकाको समन्वयकारी भूमिका आवश्यक रहेको बताउनु भयो । मुस्ताङको कोरला नाकाले मित्रराष्ट्र चीनसँगको व्यापार व्यवसाय गर्न सहज हुने भएकाले उत्पादनको सहज बजार र दुई देशबीचमा  स्थलमार्ग हुँदै व्यापार विस्तारको नयाँ सम्भावना खोल्ने बताउनु भयो । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया