दलहरुले आफैँले हस्ताक्षर गरेर सहमति जनाएको आचारसंहिता उल्लङ्घन गरे : आयुक्त रामप्रसाद भण्डारी

 कात्तिक २१, २०७९ सोमबार ११:१९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराइ स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा चुनाव सम्पन्न गराउनका लागि सम्पूर्ण तागत लगाएकाे दाबी गरेकाे छ । 

पूर्व प्रमुख निर्वाचन आयुक्तहरुसँगको छलफलका क्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष चुनावको कडीको रुपमा रहेको आचारसंहिता पालना गराउने विषयमा आयोगले सम्पूर्ण ध्यान केन्द्रित गरेको दाबी गर्नु भएकाे हाे । 

पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले विगतका चुनावमा आचारसंहिता उल्लङ्घन भएको, धाँधली भएको, मतपेटीका हराएको लगायत घटनाहरुबारेब बताउँदै त्यसतर्फ सचेत हुन आयोगको ध्यानाकर्षण गराएका थिए ।निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आचारसंहिता पालना गराउने सवालमा आयोगले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले राजनीतिक दल र सरोकारवालाहरुसँगको परामर्शका आधारमा आयोगले आचारसंहिता बनाएकाले पालना गरेर सबैले इमानदारिता देखाउनुपर्नेमा पनि जोड दिनुभयो ।

आचारसंहिता राजनीतिक दल, सरोकारवाला निकाय र आयोगको साझा सहमतिको दस्ताबेज भएको र त्यसमा राजनीतिक दलले हस्ताक्षर गरेर पालना गर्ने प्रतिबद्धता जनाएकाले प्रतिबद्धताप्रति दलहरु पनि जिम्मेवार हुनुपर्ने तर्क उहाँले गर्नुभयो । उहाँले चुनाव व्यवस्थापनको विषय कठिन भए पनि आफूहरुले चुनौती नभइ अवसरको रुपमा लिएको उल्लेख गर्दै आचारसंहिता लागू गर्ने कुरामा आयोग सधैँ निष्पक्ष र निष्ठापूर्वक उभिने स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘जब हामीले कडाइका साथ आचारसंहिता लागू गर्ने भनेर लाग्छौँ, त्यो बेलामा आचारसंहिता उल्लङ्घन गर्ने हाँसीहाँसी हिँड्नुहुन्छ । दलहरु र आयोगबीचको संयुक्त दस्ताबेज हो, आचारसंहिता । हामीले सबैलाई जानकारी गराएर सबैको सहमतिमा आचारसंहिता कार्यान्वयन गर्ने हो, आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा आयोग आफ्नो निष्ठामा प्रतिबद्ध छ । निष्पक्षता र आयोगको निष्ठामाथि कहीँबाट शङ्का,उपशङ्का नगरे हुन्छ ।’

भण्डारीले स्वतन्त्र, निष्पक्ष, भयरहीत र सर्वस्वीकार्य चुनाव गराउने सवालमा आयोग कटिबद्ध रहेको र त्यहीअनुसार आफ्ना काम कारबाही अघि बढाएको बताउनुभयाे । 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया