पहिलो पटक भोट खसाल्न लागेका धेरैजसो मतदातामा मतदान प्रक्रियाबारे अन्योल

 कात्तिक २७, २०७९ आइतबार ७:३८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम - पहिलो पटक भोट खसाल्न लागेका धेरैजसो मतदातामा मतदान प्रक्रियाबारे अन्योल देखिएको छ । थपिएका नयाँ मतदाता जसले यसपालिको चुनावमा भोट खसाल्न लागेका छन्, उनीहरुमा सही मतदान प्रकृयाबारे अन्योल देखिएको हो । चुनाव आउन अब एक हप्ता मात्रै बाँकी छ ।

मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले घरदैलो अर्थात् मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । तर पहिलो पटक मतदान गर्ने मतदाताले आफूहरु अलमलमै रहेको गुनासो गरेका छन् । सही मतदान प्रक्रियाबारे अहिलेसम्म जानकारी नपाएको उनीहरुको भनाइ छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–७ की बिन्दु ओलीले पहिलो पटक भोट खसाल्न लागेको तर कसरी सही मतदान गर्ने अहिलेसम्म जानकारी नपाएको बताउनुभयो।

निर्वाचन कार्यालय, दल तथा उम्मेदवार र पालिकाबाट खटाएको भनिएका स्वास्थ्य स्वयम्सेविकाबाट कुनै जानकारी नपाएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘पहिलो पटक मतदान गर्न उत्सुक छु, तर छाप लगाउने, मतपत्र पट्याउने र बदर नहोस् भनेर सिक्न पाएकी छैन ।’

रुकुम पश्चिममा मात्रै १ हजार २ सय ६० जना नयाँ मतदाता रहेका छन् । बाँफिकोट गाउँपालिका–९ झुला गाउँकी १८ वर्षीया तुलसा खनालले पनि आफूले सही मतदाता शिक्षा नपाएको बताउनुभयो । मत बिग्रने डर रहेको खनाल बताउनुहुन्छ । तर मतदाता शिक्षा बारेमा काम गरिरहेको निर्वाचन कार्यालयले मतदाता शिक्षा र सही मतदान प्रक्रियाबारेमा जिल्लाका सबै पालिका तहमा नमुना मतदान कार्य गरेको जनाएको छ।

जिल्ला निर्वाचन अधिकारी कुमारी रीमा मल्लले मत बदर हुन नदिन र सही मतदान प्रक्रिया बारेमा जानकारी दिनको लागि ६ वटै तहमा नमुना मतदान गरिएको बताउनुभयो । मल्लले नयाँ मतदाता समेतको लागि घरघरमा गएर मतदाता शिक्षा दिन महिला स्वयम्सेविकालाई खटाइएको जानकारी दिनुभयो । 

निर्वाचन आयोगले गएको भदौ मसान्तमा सार्वजनिक गरेको देशभरको अन्तिम मतदाता नामावली अनुसार आउँदो मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा हुने गरी १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना मतदाताको नामावली स्वीकृत गरेको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया