प्रतिगामी र संविधान विरोधी शक्तिहरूलाई यही चुनावबाट पाठ सिकाउनुपर्छ : प्रचण्ड

 कात्तिक २७, २०७९ आइतबार १९:५२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

गोरखा – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज (आइतवार) हिमालपारि उपल्लो गोरखाका चुमनुम्ब्री गाउँपालिकाका छेकम्पार, सामागाउँ, सिर्दिबास र माछाखोलाका मतदातासँग भेटघाट गर्नुभएको छ ।

गोरखाको क्षेत्र नं. १ मा चुमनुम्ब्री गाउँपालिकाका विभिन्न ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गोरखाका अति विकट क्षेत्रको विकासका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गोरखाको विकास र समृद्धिका लागि नै आफूले यस पटकको चुनावमा गोरखा आएको बताउँदै प्रचण्डले प्रतिगामी र संविधान विरोधी शक्तिहरूलाई यही चुनावबाट पाठ सिकाउनुपर्ने बताउनुभयाे । अहिले संविधान पक्षधर र विरोधीहरूको लडाइँ रहेको जिकिर गर्दै उहाँले सत्ता गठबन्धनले संविधानको रक्षा, समृद्धि र अग्रमगनको नेतृत्व गरेको तर एमाले र केपी ओलीले प्राप्त उपलब्धिलाई समाप्त पार्ने र देशलाई अँध्यारो सुरुङतर्फ लैजान खाेजेकाे आराेप लगाउनुभयाे । 

राजनीतिक परिवर्तनका लागि जनयुद्धको तयारी गोरखाबाटै गरेको बताउँदै उहाँले भन्नुभयो, ‘अहिले राजनीतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाई समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आएको छु ।’

चुनावबाट चुनिएर समग्र गोरखाको विकास निर्माणलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्नुभयाे । राजनीतिक क्रान्तिका लागि गोरखा जसरी उर्बर भूमि बन्यो त्यसरी नै समृद्धिको नयाँ क्रान्तिका लागि गोरखा उपयुक्त रहेको आफ्नो भनाइ थियाे । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया