चुनावपछि पनि कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार : प्रवक्ता महत

 कात्तिक २८, २०७९ सोमबार १६:१३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सत्तारूढ गठबन्धन फराकिलो मतले विजयी हुने दाबी गर्नुभएको छ । 

आज सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रवक्ता महतले चुनावपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारूढ गठबन्धनकै सरकार बन्नेसमेत जिकिर गर्नुभयाे । उहाँले भन्नुभयो, ‘सत्तारूढ गठबन्धन फराकिलो बहुमतले विजयी हुनेछ । यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ ।’

देशलाई स्थिरतासहित समृद्धिको दिशामा अघि बढाउन सत्तारूढ गठबन्धनको विकल्प नभएको उहाँको भनाइ थियो ।

प्रवक्ता महतले नेकपा एमालेले खुलेआम निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको आरोप लगाउँदै कारबाही गर्न पनि निर्वाचन आयोगसँग माग गर्नुभएकाे छ । निर्वाचन आचारसंहिताविरुद्ध एमालेले प्रलोभन दिने, सामाजिक सङ्घ–संस्थाहरूको दुरुपयोग गर्ने काम गर्दा पनि आयोगले कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

कांग्रेसले भने निर्वाचन आचारसंहिताको अक्षरशः पालना गरिरहेको उहाँले जिकिर गर्नुभयो । एमालेले जारी गरेको चुनावी घोषणापत्रमा सपना मात्रै बाँडिएको पनि उहाँकाे भनाइ थियाे ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया