मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका प्रचार सामग्री भोलि मध्यरातसम्म हटाउनुपर्ने

 कात्तिक ३०, २०७९ बुधबार ८:१४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव आउन अब ४ दिन मात्रै बाँकी छ । दल तथा उम्मेदवारले भोलि मध्यरातसम्म मात्रै चुनावी प्रचार गर्न पाउने छन् । मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि कुनै पनि उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न पाइने छैन ।

दल तथा उम्मेदवारले गएको १७ गतेदेखि चुनाव प्रचार सुरु गरेका थिए । निर्वाचन आयोगले भोलि मध्यरातपछिको अवधिलाई स्थिर समयका रुपमा व्याख्या गरेको छ । विगतमा यसलाई मौन अवधि भनिन्थ्यो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार  मंसिर ४ गते आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुने भएकाले भोलि बिहीबार राति १२ बजेदेखि चुनावी प्रचारप्रसार गर्न पाइने छैन ।

निर्वाचन आचारसंहिताअनुसार स्थिर समयमा सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइने छैन । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने हुन्छ ।

यस्तै, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार हुने मतदान तथा मतदानपछि मतपत्रको गोप्यता कायम गर्न आग्रह गर्नुभएको छ । कसैको डर, त्रास, धाकधम्की, अवरोध र प्रलोभनमा नपरी गोप्य मतदान गर्न उहाँको आग्रह छ ।

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ९ मा कसैले पनि मतपत्रमा मत सङ्केत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत सङ्केत स्थलमा मत सङ्केत नगरी त्यसभन्दा बाहिर गई मत सङ्केत गर्न वा मत सङ्केत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न, छाप लगाएको मतपत्र आफूसँग लिएर जान नहुने व्यवस्था छ ।


 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया