दार्चुला : व्यास गाउँपालिका–१ छाङरु र तिङ्करको मतदान सदरमुकाम खलंगामै हुने

 मंसिर १, २०७९ बिहीबार १६:२७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्करको मतदान सदरमुकाम खलंगामै हुने भएको छ । व्यासमा अहिले चिसो बढेका कारण अधिकांश मतदाता खलङ्गा झरिसकेकाले छाङरु र तिङ्कर दुवै गाउँवासीले जिल्ला सदरमुकाम खलङ्गाबाटै मतदान गर्ने गरी तयारी भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।

वडा कार्यालयको सिफारिसका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगबाट अनुमति मागेर खलङ्गामै मतदान गर्ने व्यवस्था गर्न लागिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिनुभयो । अहिले सबै सर्वदलीय सहमति र वडाको सिफारिसका आधारमा दुवै गाउँको मतदान केन्द्र खलङ्गामै कायम गरिएको उहाँले बताउनुभयो ।

छाङरुको मतदान केन्द्रमा तीन सय ८३ र तिङ्करको केन्द्रमा दुई सय ३४ जना मतदाताले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा मताधिकार प्रयोग गर्ने बताइएको छ । तिंकरका मतदाताले सदरमुकाम खलंगाको बंगाबगरमा रहेकाे मोती महिला संघ आधारभूत विद्यालयमा मतदान गर्ने बताइएको छ भने छाङरुका मतदाताले कैलासपति आधारभूत विद्यालयमा मतदान गर्ने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयाे ।

गएकाे  बैशाख ३० गते भएको पालिका तहको चुनावमा यो क्षेत्रमा नेपाली भूमिबाट छाङरू र तिङ्कर जान बाटो नभएका कारण हेलिकोप्टरमार्फत चुनाव सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरु लगिएको थियो ।

दार्चुलाका एक सय ४३ मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन समेत गरिएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु चुनाव सामग्री बुझेर मतदान केन्द्रहरुमा पुगेका छन् ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया