महोत्तरीका ४ वटै चुनावी क्षेत्रमा रोचक प्रतिस्पर्धा

 मंसिर १, २०७९ बिहिबार १९:२०:३७ | सुनिता महताे
unn.prixa.net

४ वटा चुनावी क्षेत्र रहेको महोत्तरीमा यसपटकको प्रतिनिधि सभाको चुनाव रोचक बन्दै गएको छ । पार्टीका केन्द्रीय अध्यक्ष, पूर्व मन्त्री, प्रतिनिधि सभाका पूर्व सदस्यहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका कारणले पनि महोत्तरीका ४ वटै क्षेत्रमा नागरिकको चासो बढेको छ । यस्तो छ महोत्तरीको क्षेत्रगत प्रतिस्पर्धा :

क्षेत्र नम्बर १ मा पोखरेल र कोइरीको दोस्रो भेट

पूर्वमन्त्री गिरिराजमणि पोखरेल चौथौपटक यस क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ । सत्ता गठबन्धनबाट माओवादीतर्फका उम्मेदवार पोखरेल अहिले चौथो पटक जित निकाल्ने दाउमा हुुनुहुन्छ । उहाँ यसअघि तीन पटक सांसद भइसक्नु भएको छ ।

यस्तै, विपक्षी गठबन्धनबाट नेकपा एमालेकी उम्मेदवार लक्ष्मी महतो कोइरीको भने पोखरेलसँगको यो दोस्रो प्रतिस्पर्धा हो । २०७४ सालको निर्वाचनमा संघीय समाजवादी फोरमबाट उम्मेदवार भएकी महतो माओवादी नेता पोखरेलसँग पराजित हुनुभएको थियो । २०७४ सालमा माओवादीका पोखरेलले २३ हजार ७ सय ७६ मत ल्याएर विजयी हुँदा महतो कोइरीले १९ हजार ४ सय ९२ मत ल्याउनु भएको थियो । त्यस्तै कांग्रेसका सीताराम भण्डारीले ९ हजार ४ सय ७५ मत पाउनु भएको थियो ।

गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतो उम्मेदवार महतोको छोरा भएको कारणले मेयरले आफ्नो जनाधार तथा शक्ति पोखरेलका विरुद्ध प्रयोग गर्ने हुँदा पनि यसपटकको चुनावमा महतोले पोखरेललाई राम्रै चुनौती दिने अनुमान गरिएको छ ।

९८ हजार ४ सय ९७ मतदाता रहेको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी खेमकुमारी भुर्तेल, जनमत पार्टीका इन्जिनियर राजकिशोर साह र स्वतन्त्रतर्फका पोषणबहादुर थापा र इन्जिनियर जय साहको पनि यस क्षेत्रमा रामै चर्चा रहेको छ ।

क्षेत्र नम्बर २ मा चर्चित तथा नयाँ अनुहारको प्रतिस्पर्धा

महोत्तरीबाट सबैभन्दा बढी केन्द्रीय राजनीतिमा प्रभाव राख्ने पूर्वमन्त्री शरतसिंह भण्डारी दोस्रो पटक यस क्षेत्रबाट उम्मेदवार बन्नु भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता भण्डारी सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुनुभएका भण्डारी दुई पटक राष्ट्रिय पञ्चायत सदस्य, तीन पटक प्रतिनिधि सभा सदस्य, एक पटक संविधानसभा सदस्य बन्नुभयो । २०७४ सालको संसदीय चुनावमा भण्डारीले ३० हजार ७ सय २२ मत ल्याएर विजयी हुँदा कांग्रेसका किरण यादवले १३ हजार ९ सय ७४ तथा माओवादी केन्द्रका कासिम नदाफले ३ हजार ७ सय ३२ मत ल्याउनु भएको थियो ।

९९ हजार ७ सय ७ मतदाता रहेको यस क्षेत्रबाट भण्डारीको प्रतिस्पर्धीकारुपमा वामगठबन्धनकातर्फबाट एमालेका डा. रामपरीक्षण यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका विजयकुमार सिंह र जनमत पार्टीका उम्मेदवार उमेशकुमार यादवको नामसमेत चर्चामा छ ।

क्षेत्र नम्बर ३ मा महन्थ ठाकुर विरुद्ध अन्य प्रतिस्पर्धी

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर दोस्रो पटक यस क्षेत्रका लागि उम्मेदवार बन्नु भएको छ । पूर्वमन्त्री  ठाकुर यसअघि नेपाली कांग्रेसबाट २०४८, २०५१ र २०५६ मा सर्लाही–५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । तर, २०६४ देखि भने उहाँ कांग्रेसबाट अलग भइ मधेसीको मुद्दालाई लिएर राजनीतिमा होमिनु भएको हो । २०७४ सालको चुनावमा ठाकुुर सर्लाही छाडेर यस क्षेत्रबाट   निर्वाचित हुनु भएको थियो ।

यस क्षेत्रमा ठाकुरको मुख्य प्रतिस्पर्धीको रुपमा जनता समाजवादी पार्टीका हरिनारायण यादव उम्मेदवार बन्नु भएको छ । पूर्वमन्त्री यादव २०६४ सालमा महोत्तरी क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यस्तै यस क्षेत्रमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्रलाल पनि चुनावी मैदानमा छन् । उहाँ राष्ट्रिय सभाको पूर्व सदस्य हुनुहुन्छ । यस्तै, स्वतन्त्र उम्मेदवार रामआधार कापरको नाम पनि यस क्षेत्रमा चर्चामा रहेको छ ।

यहाँ सत्ता गठबन्धनका उम्मेदवार महन्थ ठाकुर र विपक्षी गठबन्धनका उम्मेदवार हरिनारायण यादवबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

२०७४ सालमा २६ हजार ८ सय ४५ भारी मतसहित विजयी हुनु भएका ठाकुरका प्रतिस्पर्धीहरू एमालेका विजयकुमार चौधरीले ८ हजार ६ सय ७६, स्वतन्त्र चन्देश्वर झाले ४ हजार २० र बहुजन शक्ति पार्टीका जोगिन्द्र महताले १ हजार ८ सय ८४ मत ल्याउनु भएको थियो ।

क्षेत्र नम्बर ४ मा सत्ता र विपक्षी गठबन्धन

यस निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेसका महेन्द्रकुमार राय र विपक्षी गठबन्धनबाट जसपाका सुरेन्द्रकुमार यादव चुनावी मैदानमा हुनुहुन्छ । राय तथा यादव दुवै प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री हुनुहुन्छ ।

दुवै जना एकै समुदायको भएकोले यस क्षेत्रको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिन्छ । सत्ता तथा विपक्षी गठबन्धन दुवै इमान्दार भएमा आफूहरुले जित्ने दुवै गठबन्धनका कार्यकर्ताको दाबी छ ।

२०७४ मा महोत्तरी ४ बाट संघीय समाजवादी फोरमका सुरेन्द्रकुमार यादव १८ हजार ३ सय ५३ मत ल्याएर विजयी हुँदा कांग्रेसका राय ले १३ हजार २५ र माओवादी केन्द्रका मो रजी हैदरले १२ हजार ९ सय ४५ भोट प्राप्त गरेका थिए । 

अन्तिम अपडेट: बैशाख १, २०८१

सुनिता महताे

महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया