टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु: भक्तपुर तनावग्रस्त, १५ सेल अश्रुग्यास प्रहार

 असोज १७, २०७५ बुधबार २१:१६:५ | उज्यालो सहकर्मी

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित पाण्डु बजारमा बुधबार साँझ एक टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

काभ्रेबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख.३६५० नम्बरको टिप्परले त्यही दिशातर्फ जाँदै गरेको बा८८प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रे नमोबुद्ध डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रहरी परिसर भक्तपुरका अनुसार साँगाबाट ६ बजे छुटेर तीव्र गतिमा आएको टिप्परले मोटरसाइकललाई ठक्कर दिएर चालक फरार भएको हो । ठक्कर दिएर मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित भिडले टिप्परमा आगो लगाइदिएर ध्वस्त बनाइदिएका छन् । डेढ घण्टासम्म पनि आगो नियन्त्रणमा आएको छैन ।

आगो नियन्त्रणका लागि आएका प्रहरीले भिड हटाउन खोज्दा आक्रोशित भिडले नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गरेको स्थानीय हरिशरण थापाले बताउनुभयो । प्रहरीले लाठीचार्ज गरेपछि आक्रोशित भिडले ढुङ्गाहाने पछि सूर्यविनायक क्षेत्र राति ८:३० बजेसम्म तनावग्रस्त बनेको छ । 

आगो नियन्त्रण गर्न आएको दमकललाई समेत भिडले ढुङ्गा हानेर तोडफोड गरेपछि प्रहरीले भिडमा अश्रुग्यास हानेको छ । स्थानीयका अनुसार प्रहरीले १५ सेल भन्दा बढी अश्रुग्यास हानेको छ । राती ८ः३० बजेसम्म अश्रुग्यास हानेर भिड तितरबितर बनाएपछि दमकलले आगो निभाएको छ । 

घटनामा प्रहरीको व्यापक लापर्वाही

घटनालाई शान्तिपूर्ण रुपमा नियन्त्रणमा लिन सकिने भए पनि प्रहरीको लापर्वाहीका कारण सूर्यविनायक क्षेत्र तनावग्रस्त बनेको स्थानीय बासिन्दाले बताएका छन् । प्रहरीले राति घर जान लागेका, पसल सञ्चालन गरेको व्यापारीदेखि सुत्केरी महिला समेतलाई अन्धाधुन्दा लाठीचार्ज गरेको स्थानीयले आरोप लगाएका छन् । 

स्थानीय प्रत्यक्षदर्शी सावित्री पोखरेलले प्रहरीले बच्चा बोकेको सुत्केरी महिलालाई समेत लाठी प्रहार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ढुङ्गा हान्नेहरु भागे, सोझा र निर्दोष माथि प्रहरीले लाठी र अश्रुग्यास बर्सायो, टाढाटाढा घर जानेहरुको कन्तबिजोग बनायो, धेरै घाइते भए ।’

प्रहरीले घरको छतछतमा समेत अश्रुग्यास हानेको स्थानीय सुरेन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँले प्रहरीको लापर्वाहीका कारण स्थानीयदेखि घर जान हिँडेका नागरिकले समेत निकै दुःख पाएको बताउनुभयो । 

आक्रोशित भिडले गरेको ढुङ्गा प्रहारका कारण दमकल तोडफोड हुनुको साथै दमकलका कर्मचारी समेत घाइते भएको र केही प्रहरी घाइते भएको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । प्रहरीको लाठीचार्ज र अश्रुग्यासबाट कति घाइते भए भन्ने यकिन तथ्यांक नआए पनि जिल्लामा विभिन्न अस्पतालमा घाइतेको उपचार भइरहेको स्थानीय नागरिकले जानकारी दिएका छन् । 

दिउँसै चल्यो टिप्पर

भक्तपुरमा बुधबार दिउँसो १२ बजेदेखि नै टिप्पर सञ्चालनमा आएको स्थानीय बासिन्दा बताउँछन् । स्थानीय सञ्जय श्रेष्ठले यसअघि साँगाबाट ६ बजे टिप्पर आउने गरे पनि आज प्रहरी प्रशासनकै मिलेमतोमा टिप्पर १२ बजेदेखि सञ्चालनमा आएको स्थानीयको आरोप छ ।

सरकारको निर्णय विपरीत दिउँसो टिप्पर सञ्चालन गर्न दिएको भन्दै स्थानीयले प्रहरी र प्रशासनप्रति आक्रोश व्यक्त गरेका छ । 
 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • हाम्सो क्युतिच कोइच

    Oct. 4, 2018, 8:14 a.m.

    त्यस क्षेत्रका जनता आफैले टिपर धनी सङ समन्वय गरि कम गतिमा चलाउन लगाउने द्रुत गतीमा चलाएको पाईए टिपरलाई नियन्त्रण मा लिएर कार्वाही गर्ने शर्त सहित चालक लाई चेतना मुलक प्रशिक्षण दिने होइन भने सरकारले बनाएको कानुनलाइ छारो हान्ने काम मात्रै हुने हो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया