‘बिना बर्दीमा गौँडा–गौँडामा बसेका छौँ, आचारसंहिता छल्ने प्रयास नगर्नू’ : आयुक्त भण्डारी

 मंसिर ३, २०७९ शनिबार १४:२५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निर्वाचन आयोगले गौँडा-गौँडामा बिना बर्दीका सुरक्षाकर्मी खटिएको भन्दै निर्वाचन आचारसंहिता उल्लङ्घनको प्रयास नगर्न चेतावनी दिएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थिर समयमा प्रलोभनमा पार्ने तथा धम्कीका घटना समेत हुनसक्नेतर्फ सचेत भएर बिना बर्दीका सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो ।

आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्कालै कारबाहीको दायरामा ल्याउनेदेखि गोप्य जानकारी गराउने काम बिना बर्दीका सुरक्षाकर्मीबाट भैरहेको उहाँले बताउनुभयो । आयोगका निर्वाचन आयुक्त  भण्डारीले निर्वाचन प्रचारप्रसारका क्रममा कम मात्रै आचारसंहिता उल्लंघन भएको तर स्थिर समयमा बढी आचारसंहिता उल्लङ्घन हुनसक्ने बताउनुभयो । यस्तै, आफू र आफ्ना दलका प्रतिनिधि जिताउनका लागि अन्तिम समयमा अझै बढी दलका नेता र उम्मेदवारहरु लापरबाही गर्नसक्ने भन्दै आयोगले त्यही अनुरुप नियन्त्रण र नियमन गर्ने व्यवस्था मिलाएको पनि उहाँकाे भनाइ छ । 

निर्वाचन आयुक्त भण्डारीले आयोगलाई आचारसंहिता कडा गरेन भन्ने आरोप लाग्दै आएकाले त्यसलाई चिर्न र कानूनको कार्यान्वयन गराउन यस पटकको निर्वाचनमा आयोगले आचारसंहितामा कडाइ गरिरहेको बताउनु भयो । उहाँले आचारसंहितामा कडाइ नगरे स्वच्छ, निष्पक्ष, भयरहीत निर्वाचन हुन नसक्ने भन्दै निर्वाचनलाई पूर्ण रुपमा सम्पन्न गर्न आयोग हरक्षण लागेको पनि प्रष्ट पार्नुभयाे । 

निर्वाचन आयुक्त भण्डारीले उम्मेदवार, कार्यकर्ता र राजनीतिक दलहरुलाई आयोगले कानूनद्वारा निषेध गरेका विषयवस्तु र निर्वाचनलाई धक्का पुग्ने काम बाहेकका गतिविधि गर्न नरोकेको स्पष्ट पार्नुभयो । उहाँले नागरिकहरुलाई पनि चुनाव बिथोल्ने किसिमका गतिविधि बाहेक अन्य कुनै कुरामा निषेध नगरेको बताउनु भयो ।

निर्वाचन आयुक्त भण्डारीले विगतका निर्वाचनमा सडकभर पर्चा, पम्प्लेट, झण्डा देखिने गरे पनि यस पटकको निर्वाचनमा कुनैपनि त्यस्ता सामग्रीहरु छरपस्ट नरहेको दाबी गर्नुभयाे । यसैबीच निर्वाचन आयोगले यसअघि भएका चुनावको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको बताएको छ ।

उहाँले शैक्षिक स्तरको पाठ्यक्रममा नै राखेर मतदाता शिक्षाको विकास र जनतालाई सुसूचित बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले विकसित देशमा पनि मतपत्र बदर हुने गरेको भन्दै मतदाता सचेत भएर मतदान गरेको खण्डमा मतपत्र बदर हुनसक्ने कुरालई कमी गर्न सकिने बताउनुभयो ।

 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया