एमाले ३, स्वतन्त्र पार्टी २ र कांग्रेस एक ठाउँमा अगाडि

 मंसिर ५, २०७९ सोमबार ९:११:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव अन्तर्गत काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, झापा र धनुषामा मतगणना सुरु भएको छ । काठमाण्डौको क्षेत्र नम्बर–७, ललितपुर क्षेत्र नम्बर २, ललितपुर क्षेत्र नम्बर ३, भक्तपुर क्षेत्र नम्बर २, कास्की क्षेत्र नं २, झापा–२ र धनुषा ३ मा मतगणना भइरहेको हो । गणना भइरहेका क्षेत्रमध्ये ६ वटाको प्रारम्भिक नतिजामा ३ ठाउँमा नेकपा एमालेको अग्रता छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले २ र कांग्रेसले एक ठाउँमा अग्रता लिएको छ । काठमाण्डौमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिनुभएको छ । उहाँको १ सय ७७ मत आएको छ ।

यस्तै, कास्कीको क्षेत्र नम्बर–२ मा ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता लिनुभएको छ । उहाँले अहिलेसम्म १ सय ६२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय २२ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ८५ मत प्राप्त गर्नुभएको छ । कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना आज बिहान सर्वदलीय बैठकपछि सुरु हुने प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।  

ललितपुर क्षेत्र नम्बर २ मा चार हजार सात सय ८८ मत गणना हुँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।  एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले एक हजार तीन सय १७ मत ल्याउनु भएको छ । ताजा मत परिणाम अनुसार हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले एक हजार ९७ मत ल्याएर महर्जनलाई पछ्याइरहनु भएको छ ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले आठ सय ७७ मत ल्याउनु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले सात सय ९० मत ल्याउनु भएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापाले छ सय ७६ मत ल्याउनु भएको निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले जानकारी दिनु भयो । यस क्षेत्रमा १२ जना स्वतन्त्रसहित ४२ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।

झापाको निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना चलिरहेको छ । क्षेत्र नम्बर २ मा ६ सय मत गन्दा एमालेका उम्मेदवार देवराज घिमिरेले दुई सय मतसहित अग्रता कामय गर्नुभएको छ । त्यस्तै,माओवादीका हरिकुमार रानाले १ सय ९८ र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले सय मत प्राप्त गर्नुभएको छ ।

यस्तै,धनुषा निर्वाचन क्षेत्र नम्बर–३ को प्रतिनिधि सभातर्फ गणना सुरु भएको छ । त्यहाँ एमालेका जुलीकुमारी महतोले ६ सय ८ मतसहित अग्रता कायम गर्नुभएको छ । जनमत पार्टीका शम्भु साहले ३ सय २० र लोसपाका अनिलकुमार झाले ३ सय १० मत प्राप्त गरेको पछिल्लो विवरण छ ।

भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले एमालेका उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिएको हो  । गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति दूर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई ६ सय मतले पछाडि  पार्नुभएको छ ।

मध्यपुरथिमि नगरपालिका–३ कौशलटार, सूर्यविनायक नगरपालिका–१ सिरुटार र सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीन वटा मतदान केन्द्रका मतगणनामा नेपाली कांग्रेसले दुई हजार २ सय ३० मतले अग्रता लिएको छ । एमाले एक हजार ६ सय ३२ मत ल्याउँदा राष्ट्रियता प्रजातन्त्र पार्टीले २ सय ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ सय २४ र नेपाल मजदुर किसान पार्टीले २ सय ५० मत प्राप्त गरेको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया