डडेलधुरामा शेरबहादुर देउवाको सातौं जित

 मंसिर ६, २०७९ बुधबार ५:३९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – डडेलधुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ ।

कुल ५१ हजार २०३ मत गणना हुँदा देउवा २५ हजार ५३४ मतका साथ विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभएको छ । अर्का उम्मेदवार नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याउनुभयो ।

देउवा २००३ साल जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस—५ मटेला, रुवाखोलामा जन्मिनुभएको हो । २०१७ सालदेखि राजनीतिमा लागेका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्र्थी संघको पहिलो निर्वाचित अध्यक्ष समेत हुनुहुन्छ । २०४८ सालको आमचुनावमा देउवा डडेल्धुराबाट विजयी हुनुभयो । देउवाले २०५१ र २०५६ सालको संसदीय चुनाव, २०६४ र २०७० सालको संविधानसभा चुनाव तथा २०७४ सालको संसदीय चुनावमा डडेल्धुराबाट जित्नुभएको थियो ।

पार्टीभित्रको अन्तरसंघर्ष चर्किएपछि देउवाले २०५९ सालमा कांग्रेस पार्टी फुटाएर नेपाली नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्नुभयो र त्यसको सभापति हुनुभयो । २०६४ सालमा फेरि कांग्रेस एक भयो । पार्टी एक भएपछि कांग्रेसको नेतृत्वको आकांक्षी रहे पनि उहाँ सुशील कोइरालासँग पराजित हुनुभयो । २०७२ फागुनमा भने रामचन्द्र पौडेललाई हराएर देउवा कांग्रेसको सभापति बन्नुभयो । २०७८ सालमा भएको कांग्रेसको १४ महाधिवेशनबाट शेखर कोइरालालाई हराएर उहाँ फेरि कांग्रेसको सभापति बन्नु भएको हो । 

देउवा ५ पटक प्रधानमन्त्री भैसक्नुभएको छ । २०५२ साल भदौ २६ गते देउवा राप्रपा लगायत दलसँगको सहकार्यमा पहिलोपटक प्रधानमन्त्रीका रुपमा डेब्यु गर्नुभयो । २०५३ साल फागुन २६ गते प्रधानमन्त्रीबाट हटेका देउवा २०५८ साल साउन ७ गते दोश्रो पटक प्रधानमन्त्री बन्नुभयो । तेस्रोपटक ०६१ साल जेठ २१ गते प्रधानमन्त्री बन्नुभयो ।

यस्तै २०७४ सालको जेठ २३ गते माओवादीको समर्थनमा देउवा चौथोपटक प्रधानमन्त्री हुनुभयो । २०७८ जेठ ७ मा केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलले प्रतिनिधि सभा बिघटनका लागि सिफारिस गरेपछि १ सय ४९ सांसदले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनेर सर्वोच्च अदालतमा रिट दायर गरे । त्यसपछि सर्वोच्चको परमादेशअनुसार २०७८ असार २९ गते देउवा पाँचौं पटक प्रधानमन्त्री बन्नुभयो । 

देउवा यसपटक पनि डडेल्धुरा १ बाट नै उम्मेदवार हुनुहुन्छ । यसअघिका सबै चुनाव जित्नु भएका देउवाले २०७४ को चुनावमा माओवादी नेता खगराज भट्टलाई हराउनु भएको थियो ।  
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • कमल प्रसाद तिमिल्सिना

    Nov. 23, 2022, 8:07 a.m.

    नेतालाई चुनाव जित्न जनता जति गरिब र अशिक्षित मै राख्न सक्यो उति सजिलो हुने रैछ । सायद त्यहाका जनताको घर घरमा टिभी रेडियो पुगेको छैन होला । धन्यवाद डडेल्धुरा बासी अनि शुभकामना शेर बहादुर देउवा ज्यु । १०० बर्षको हजुरको आयु होस तपाईको फोटै देखायर पनि चुनाव जित्नेछ नेपाली कांग्रेसले त्यो ठाउँ बाय ।

  •  0 Reply

तपाईको प्रतिक्रिया