स्वास्थ्य केन्द्रमा नियमित स्वस्थ्यकर्मी उपस्थित नहुँदा उपभोक्तालाई सास्ती

 असोज १९, २०७५ शुक्रबार ७:३०:३४ | आशिष विश्वकर्मा
unn.prixa.net

सिरहा – स्वास्थ्य चौकी गोलबजार ७ चोहर्वामा नियमित समयमा स्वास्थ्यकर्मी उपस्थित नहुँदा स्थानीय उपभोक्ता मर्कामा पर्ने गरेका छन् । ६ जना दरबन्दी रहेको स्वास्थ्य चौकीमा नियमित तथा समयमा स्वास्थ्यकर्मी उपस्थित नहुँदा स्थानीय सेवाग्राही मर्कामा परेका हुन् ।

स्थानीय मेरु ठाकुर संगीनी सुई लागाउन चारदिनदेखि स्वास्थ्यचौकी दैनिक आउनुहुन्छ । तर उहाँले चार दिनमा पनि स्वास्थ्यकर्मी फेला पार्न सक्नुभएन । आफू चार दिनदेखि आए पनि स्वास्थ्यकर्मी नभेटीएको ठाकुरले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मेरो संगिनी सुई लागाउनुपर्ने १२ गते कै समय थियो, म आउँछु तर कोही हुँदैन ।’

स्थानीय सौनिया महरा नातिनीको घाउको उपचार गर्न बिहान १० बजे स्वास्थ्यचौकी जानुभयो । उहाँ ११ बजेसम्म कुरेर बसिरहनु भएको थियो । उहाँले यहाँ जहिले आए पनि स्वास्थ्यकर्मीहरु समयमा नआउने बताउनुभयो । पहिला पनि कहिलेकाहीँ विरामी परेर आँउदा स्वास्थ्यकर्मीको पत्तै नहुने महराले सुनाउनु भयो ।

स्वाथ्य केन्द्रका अनमी अन्जना रायले गएको बुधबार ११ बजेपछि आएर कार्यालय खोल्नुभयो अन्य कस्वास्थ्यकर्मी अझै आएका थिएनन् । उहाँले आफू आउँदा आउँदै ढिलो भएको भन्दै अबदेखि यस्तो नहुने बताउनु भयो । स्वास्थ्य केन्द्र प्रमुख हेल्थ असिस्टेन्ट गणेश साह भने सोमबारै मौखिक जानकारी गराएर काठमाडौं जानुभएको  रहेछ ।

कार्यालय प्रमुख समेत रहेका गणेश आफैँ स्थानीय एक निजी क्लिनिकमा काम गर्नेगरेको स्थानीय मुकेश यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘म जहिले पनि उहाँलाई क्लिनिकमा बसिरहेको देख्छु, कुन समयमा अस्पतालमा पुग्नुहुन्छ थाहै हुँदैन ।’

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडा नं. ७ का अध्यक्ष जगत श्रेष्ठले आफूले स्वास्थ्यकर्मीहरुलाई पटक–पटक समयमै आउन भने पनि उनीहरुले अटेर गर्दै आएको बताउनुभयो । उहाँल भन्नुभयो, ‘मैले पटक–पटक समयमै आउन र जनतालाई सेवा प्रवाह गर्न भने पनि स्वास्थ्यकर्मीहरुले अटेर गर्ने गरेका छन्, अब म आवश्यक कार्वाहीको दिशामा बढ्छु ।’

गोलबजार नगरपालिका स्वास्थ्य शाखाका प्रमुख पवनकुमार पञ्जियारले पनि स्वास्थ्य केन्द्र प्रमुखलाई समयमै उपस्थित स्पष्टिकरण पनि माँगे  पटक पटक यस्तै गर्ने गरेको बताउनुभयो । 

स्वास्थ्य केन्द्रमा ६ जनाको दरबन्दी रहको छ । जसमध्ये एक जना मात्र कमी रहेको पञ्जियारले बताउनु भयो । उहाँले पाँच जना स्वास्थ्य कर्मी पनि स्वास्थ्य केन्द्रको लागि पर्याप्त भएको तर समयमा काम नगर्दा समस्या निम्तिएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया