प्रतिनिधि सभामा प्रत्यक्षतर्फ अहिलेसम्म ५ जनामात्रै महिला उम्मेदवार विजयी

 मंसिर ८, २०७९ बिहिबार १९:४८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  प्रतिनिधि सभामा प्रत्यक्षतर्फ अहिलेसम्म पाँच जना महिला विजयी भएका छन् । केहीबेर अघिसम्मको नतिजाअनुसार कास्की २ मा नेकपा एमालेकी विद्या भट्टराई, दाङ–२ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाण्डाै–२ मा सोबिता गौतम, ललितपुर–३ मा तोसिमा कार्की र कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी हुनुभएको छ । 

महिला उम्मेदवार रहेका केही निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । जसमध्ये तेह्रथुममा नेपाली कांग्रेसकी सीता गुरुङ, सुनसरी–३ मा एमालेकी भगवती चौधरी र धनुषा–३ मा एमालेकी जुली महतोले अग्रता लिइरहनुभएको छ । मोरङ २ मा कांग्रेसकी सुजाता कोइराला, दाङ–३ मा एमालेकी कोमल वली, दाङ–१ मा एमालेकी शान्ता चौधरी, कञ्चनपुर–१ मा माओवादी केन्द्रकी बिना मगर र सिरहा–२ मा उम्मेदवार बनेकी कांग्रेसकी चित्रलेखा यादव प्रतिस्पर्धामा हुनुहुन्छ । 

शीर्ष नेत्रीहरू कांग्रेसबाट मकवानपुर–१ मा महालक्ष्मी उपाध्याय डिना, माओवादीबाट ललितपुर–३ मा पम्फा भुसाल, काठमाण्डौ–२ मा ओनसरी घर्ती पराजित हुनुभएको छ । एमाले सचिव पद्मा अर्याल उम्मेदवार रहनुभएको स्याङ्जा–२ मा भने अझै मतगणना सुरु भएको छैन ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया