स्वतन्त्रबाट उम्मेदवारी दिएका को-को भए विजयी ?

 मंसिर ९, २०७९ शुक्रबार १२:३०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको मतगणना चलिरहेको छ । मतगणना सुरु भएको ६ दिन भइसक्दा पनि १ सय ६५ क्षेत्रको पूरा नतिजा आइसकेको छैन । अहिलेसम्म १ सय १९ निर्वाचन क्षेत्रको अन्तिम नतिजा आएको छ । यो नतिजा अनुसार कांग्रेस ४१, एमाले ३०, माओवादी केन्द्र १२ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ७ ठाउँमा विजयी हुँदा स्वतन्त्र उम्मेदवार ५ ठाउँमा विजयी भएका छन् । त्यस्तै राप्रपाले पनि ५ ठाउँमा जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, जनता समाजवादी पाटी जसपा र नागरिक उन्मुक्ति पार्टी दुई/दुई ठाउँमा विजयी भएका छन् । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा जित हासिल गरेका छन् । 

रौतहटबाट दुई जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । रौतहट–२ मा किरणकुमार साह र रौतहट–३ मा प्रभु साह निर्वाचित हुनुभएको छ ।

रौतहट–२, किरणकुमार साह

रौतहटको क्षेत्र नम्बर–२ मा स्वतन्त्र उम्मेदवार किरणकुमार साह विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका मोहम्मद फिरदोस आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गर्नुभयो । साह ३२ हजार ८४२ मतका साथ विजयी हुनुभएको हो । साहका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका आलमले २८ हजार २४८ मत प्राप्त गर्नुभयो ।

आलम कांग्रेस नेता एवम् पूर्व मन्त्री मोहम्मद अफ्ताब आलमका छोरा हुनुहुन्छ । एमाले–जसपा गठबन्धनबाट उम्मेदवार जसपाका शैलेन्द्र साहले २ हजार १२२ मत पाउनुभयो । रौतहट–२ मा जसपा र एमाले मिलेर साझा उम्मेदवार शैलेन्द्र साहलाई उठाएपछि किरण साहले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको थियो । उहाँ मधेसवादी दल हुँदै केही समय अघि एमाले प्रवेश गर्नुभएको थियो तर पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उठ्नुभएको हो । 

रौतहट–३ प्रभु साह

रौतहट–३ को प्रतिनिधि सभा सदस्यमा विजयी प्रभु साहले अर्का स्वतन्त्र उमेदवार ओम प्रकाशलाई ७ हजार २३७ मतान्तरले पराजित गर्नुभयो । साहको यो लगातार चौथो जित हो । उहाँले २०६४, ७०, ७४ मा पनि जित्नुभएको थियो । साह ३२ हजार ४३७ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी ओमप्रकाशले २५ हजार दुई सय मत पाउनुभयो । यो क्षेत्रमा माओवादी केन्द्रका रवीन्द्र पटेलले ८ हजार ५५८ मत ल्याएर तेस्रो हुनुभयो ।

नेकपा एमालेमा तत्कालीन स्थायी समिति सदस्य रहेका साहले पार्टीको टिकट त्यागेर स्वतन्त्रबाट उम्मेवारी दर्ता गराउनुभएको थियो । २०७४ को प्रतिनिधि सभा सदस्य चुनावमा माओवादी केन्द्रबाट निर्वाचित उहाँ तत्कालीन नेकपा विभाजित भएपछि एमालेतर्फ लागेपछि सांसद पद खारेज भएको थियो । अहिलेको जितसँगै उहाँ स्वतन्त्र सांसद बन्नुभएको छ ।

सर्लाही–४, अमरेशकुमार सिंह

सर्लाही क्षेत्र नम्बर–४ मा कांग्रेसका बागी उम्मेदवार अमरेशकुमार सिंह विजयी हुनुभयो । सिंहले २० हजार १७ मत प्राप्त गर्नुभयो । उहाँले निकटतम् प्रतिस्पर्धी कांग्रेसका नागेन्द्र कुमारलाई १ हजार ७६४ मतान्तरले हराउनुभयो । नागेन्द्रले १८ हजार २५३ मत पाउनुभयो । कांग्रेसले टिकट दिएका कोइरालालाई सत्ता गठबन्धनको सहयोग थियो । तर बागी सिंहले जित्नुभयो । यो क्षेत्रमा अर्का स्वतन्त्र उम्मेदवार मधुमालाकुमारी यादव १४ हजार ६ सय २२ मतसहित तेस्रो हुनुभएको छ । 

मोरङ–५, योगेन्द्र मण्डल

मोरङ क्षेत्र नम्बर–५ मा प्रतिनिधि सभा सदस्यमा योगेन्द्र मण्डल विजयी हुनुभएको छ । मण्डलले २१ हजार ८ सय २० मत ल्याउनुभयो । मोरङ–५ मा सत्ता गठबन्धनले माओवादी केन्द्रका शिवकुमार मण्डल (केवट) लाई उठाएको थियो । उहाँले १७ हजार ४ सय ८६ मत र एमाले, जसपा गठबन्धनबाट जसपाका राजकुमार यादवले १७ हजार ३ सय ९० मत ल्याउनुभयो । एमालेले योगेन्द्रलाई प्रतिनिधि सभा सदस्य बनाउने तयारी गरे पनि एमाले र जसपाबीच तालमेल हुँदा एमालेले जसपालाई छोडिदिएको थियो । एमाले छाडेर मण्डलले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

बर्दिया–२ लालवीर चौधरी

बर्दिया क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी हुनुभयो । उहाँले माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले हराउनुभयो । लालवीर २६ हजार ५२० मत ल्याएर निर्वाचित हुँदा निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका पन्थले २६ हजार ३८४ मत ल्याउनुभयो । त्यस्तै तेस्रो भएका एमालेका पङ्कज सिंह राठौरले १६ हजार ९० मत प्राप्त गर्नुभयो ।

यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले पूर्व सांसद रेशम चौधरीलाई उम्मेदवार बनाएको थियो । तर टीकापुर घटनामा अदालतले दोषी ठहर गरेपछि कारागारमा रहेका रेशम चौधरीको उम्मेदवारी खारेज हुनसक्ने भएकाले नागरिक उन्मुक्ति पार्टीले लालवीरको उम्मेदवारी दर्ता गराएको थियो । विजयी लालवीर चौधरी रेशमका बुबा हुनुहुन्छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया