दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिक रुपमै खपत बढाउन मधेस प्रदेशका जिल्लाहरुमा करिब ४ हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ ।
प्राधिकरणले सन् २०५० भित्रमा मधेस प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लाका दक्षिणी भेगमा हुने मानवबस्ती र आद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च क्षमताको प्रसारण लाइन करिडोर निर्माण गर्न लागेको हो ।
भारतसँगको दक्षिणी सीमामा रहेकाे हुलाकी राजमार्गको समानान्तर ४०० केभीको चार सर्किट प्रसारण लाइन र सबस्टेसनहरु निर्माण गरिने छन् । चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट ४०० केभी र तल्लो दुई सर्किट १३२ केभीमा सञ्चालन ल्याउने गरी प्रसारण लाइन करिडोरको निर्माण गरिने छ । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ठाउँ–ठाउँमा सबस्टेसनहरुको निर्माण गरिने छ । अहिले प्रस्तावित प्रसारण लाइनको रुट र सबस्टेसनहरु रहने ठाउँ तय गर्ने कामहरु भइरहेको छ ।
बारा-बर्सा औद्योगिक करिडोर अन्तर्गत वीरगञ्ज क्षेत्रमा करिब ३२०० र जनकपुर क्षेत्रमा ८०० मेगावाट विद्युत् खपत गर्ने गरी प्रसारण सञ्जाल पूर्वाधार निर्माण गरिने छन् । यसबाट सहर र औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको मधेस प्रदेशका जिल्लाहरुमा पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति हुने छ ।
प्रसारण लाइन तथा सबस्टेसनहरु निर्माणका लागि ५० अर्ब रुपैयाँभन्दा बढी लाग्ने छ । यो रकम नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी, भारतीय एक्जिम बैंक, एसियाली विकास बैंकलगायतको सहुलितपूर्ण ऋणबाट जुटाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, परामर्शदातालगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिवार र आइतवार प्रस्तावित लाइन निर्माण स्थलको स्थलगत अनुगमन भ्रमण गरी ४०० र १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि सम्भावित ठाउँ, विद्युत् माग तथा खपतको अवस्था लगायतका विषयमा जानकारी लिएको छ ।
कार्यकारी निर्देशक घिसिङले आन्तरिक रुपमा खपत बढाउन र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतर्फ निर्यातका लागि दक्षिण करिडोर प्रसारण लाइन चरणबद्ध रुपमा निर्माण गर्न लागिएको बताउनुभयो । ‘पहिलो फेजमा खपत वृद्धिका लागि तत्काल आवश्यक पर्ने प्रसारण लाइन र सबस्टेसनहरु, दोस्रो फेजमा दक्षिण करिडोर मुख्य लाइन र तेस्रो चरणमा अन्तरदेशीय विद्युत् व्यापारका लागि क्रसबोर्डर प्रसारण लाइन निर्माण गरिने छन्’, घिसिङले भन्नुभयो ।
‘केही प्रसारण लाइन तथा सबस्टेसनहरु निर्माण भइरहेका छन्, केही तत्काल सुरु हुँदैछन् भने अन्य दीर्घकालीन रुपमा निर्माण गर्ने गरी सबस्टेसनका लागि जग्गा लिने, प्रसारण लाइनको रुट तय गर्ने, वातावरणीय अध्ययनका लागि प्रक्रिया सुरु गर्नेलगायतका काम भइरहेका छन् ।’ उहाँले भारतको मोतिहारी, सीतामणि, जयनगर बिन्दुतर्फ विद्युत् निर्यात गर्न सकिने बताउनुभयो ।
बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालनमा रहेका र आउँदाे दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी पर्साको पोखरिया र बाराको निजगढमा ४०० केभीको सबस्टेसन निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको छ । त्यही ४०० केभी लाइनलाई हुलाकी राजमार्गको समानान्तर रुपमा जनकपुरतिर विस्तार गरिने छ ।
बाराका प्रसौनीमा १३२ केभी सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणको गरिएको छ । जनकपुर क्षेत्रको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन धनुषाको ढल्केबरबाट महोत्तरीको लोहरपट्टीसम्मका् १३२ केभी सबस्टेसनको निर्माण भइरहेको छ । लोहरपट्टीमा १३२ केभी सबस्टेसन निर्माणाधीन छ । यसैगरी ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन पनि निर्माणाधीन छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।