पाँच महिनापछि हालियो मेलम्चीको पानी सुरुङमा

 मंसिर १२, २०७९ सोमबार १६:३४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको छ ।

असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ । यो पानी काठमाण्डाैकाे सुरुङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताउनुभयाे । एक हप्तापछि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने पनि उहाँले सुनाउनुभयो ।

आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गर्नेछ । सुरुङ सफा गरिसकेपछि अर्को हप्ता भने मेलम्चीको पानी उपत्यकाका ग्राहकलाई वितरण गरिने छ । पानी वितरणका लागि काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ । यो सञ्जालमार्फत अर्को हप्तादेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन् ।

वर्षामा बाढी आएर सुरुङमार्गमा क्षति गर्ने भएपछि गएकाे असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो । विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायीरुपमा राजधानी आइपुगेको थियो । विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो ।

मेलम्चीको मुहानस्थलमा हेडवर्क्स निर्माणको काम नसकिएकाले हाल हिउँदका समयमा मात्र मेलम्चीको पानी राजधानी आउने गरेको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया