प्रतिनिधिसभामा रहेका सबै विधेयक निस्क्रिय, राष्ट्रिय सभाका यथावत् : संसद सचिवालय

 मंसिर १४, २०७९ बुधबार १२:५२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संघीय संसदको एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव भएसँगै अब दोस्रो संघीय संसदको कार्यकाल शुरु हुने तरखरमा छ ।

मंसिर ४ गते भएको चुनावको मत परिणाम आउने क्रम जारी नै छ । अधिकांश स्थानमा भने मत परिणाम आइसकेको छ । चुनाव परिणामलाई नियाल्दा कुनै पनि एक दलको मात्रै बहुमतको सरकार बन्ने स्थिति छैन । नेपाली कांग्रेस र नेकपा एमाले यी दुई पार्टीमध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरुको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ । 

मत परिणाम अन्तिम चरणमा पुगेसँगै आम मानिसमा  संघीय संसदमा दर्ता भएका विधेयकहरु अब के होलान् ? भन्ने चासो र चिन्ता छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निस्क्रिय भइसकेको र केही भने विचाराधीन अवस्थामा रहेको बताउनु भयो ।

उहाँले प्रतिनिधि सभामा उत्पादित भएर प्रक्रियागत रुपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरु निस्क्रिय भइसकेको बताउनुभयो । उहाँले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरु भने अधिवेशन शुरु भएपछि त्यही अवस्थाबाट शुरु हुने बताउनुभयो ।

राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रियसभामा नै विचाराधीन रहेका विधेयकहरु १२ वटा छन् । सहायक प्रवक्ता धमलाले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका बाहेकका विधेयकहरु भने निस्क्रिय भइसकेको बताउनु भयो । उहाँले यदि सरकारले तिनै विधेयकहरु ल्याउन चाहेको खण्डमा भने फरक ढंगले ल्याउनुपर्ने र ती विधेयकहरुको पुनः नयाँ प्रक्रिया शून्यबाट शुरु हुने बताउनु भयो ।  

उहाँले भन्नुभयो, ‘संघीय संसदको एक कार्यकाल पूरा भएको छ । यो चरणमा संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निस्क्रिय भएका छन् । प्रतिनिधि सभामा उत्पादित भएर प्रक्रियागत रुपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरु निस्क्रिय हुने भन्ने व्यवस्था छ । तर राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधिन रहेका विधेयकहरु १२ वटा छन् । ती विधेयकहरु विचाराधीन अवस्थामा नै छन् । अधिवेशन शुरु भएपछि जुन अवस्थामा रहेका छन्, त्यही अवस्थाबाट शुरु हुन्छन् । ती भन्दा बाहेकका अरु सबै विधेयकहरु निस्क्रिय भए । यदि सरकारले तिनै विधेयकहरु ल्याउन चाह्यो, फरक ढंगले ल्याउन चाह्यो वा कुनै पनि विधेयक संघीय संसदमा दर्ता गर्न ल्याए फेरि ती विधेयकहरुको नयाँ प्रक्रिया शुरु हुन्छ । जिरोबाट शुरु हुन्छ । राष्ट्रिय सभाबाट आएका राष्ट्रिय सभाबाट नै अघि बढ्छन्, प्रतिनिधिसभाबाट आए प्रतिनिधि सभाबाट नै अघि बढ्छन् ।’

सहायक प्रवक्ता धमलाले विधेयकहरु राष्ट्रिय सभाबाट आए राष्ट्रिय सभाबाट नै अघि बढ्ने र प्रतिनिधि सभाबाट आए प्रतिनिधि सभाबाट नै अघि बढ्ने प्रावधान रहेको पनि बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया