दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - केही समययता कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या बढ्न थालेको छ । चिसो बढेसँगै रुघाखोकी, घाँटीको खसखस, मौसमी फ्लु र छातीमा चिसो गडेका बिरामी बढेका त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका सहप्राध्यापक एवम् वरिष्ठ छाती रोग विशेषज्ञ डा.निरज बमले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा उपचारमा पुग्ने केहीमा निमोनियासमेत देखिएको छ ।
रुघाखोकीलाई सामान्य रुपमा लिँदा कतिपयलाई जटिल समस्या देखिन थालेको छ । दुई–चार दिनपछिसम्म पनि रुघाखोकी र ज्वरो ठिक नभए उपचारका लागि अस्पताल जान डाक्टर बमको सुझाव छ । उहाँका अनुसार चार पाँच दिनसम्म पनि रुघाखोकी र ज्वरो निको नभए स्वास्थ्यमा जटिल समस्या देखिने भएकाले तुरुन्त स्वास्थ्य जाँच गराउनु पर्छ । रुघाखोकीलाई पचाइन्छ भनेर लापरबाही गर्न नहुने उहाँले बताउनुभयो।
वायु प्रदूषण र चिसोका कारण जाडोयाममा निमोनियाको जोखिम धेरै हुन्छ । डाक्टरका अनुसार मौसमी रुघाखोकीको लक्षण सामान्यतया एक हप्तामा आफैँ हराएर जान्छ भने केहीमा भने जटिल समस्या देखिन्छ ।
सामान्य भनेर रुघाखोकीलाई बेवास्ता गरे बूढापाका, दीर्घरोगी, क्यान्सर, रोग प्रतिरोधक क्षमता कम भएका मधुमेहका बिरामी र बालबालिकाको भने ज्यान जाने जोखिम हुने त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका सहप्राध्यापक एवम् वरिष्ठ छाती रोग विशेषज्ञ डा.निरज बम बताउनुहुन्छ । उहाँका अनुसार विगतका वर्षमा यस्ता बिरामीको ज्यान गएको तथ्याङ्क छ । त्यसैले रुघाखोकी र ज्वरोलाई सामान्य रुपमा नलिन डाक्टरको सुझाव छ ।
मौसमी रुघाखोकीका लक्षण भएकाहरू सकेसम्म अरूको सम्पर्कबाट दूरी बनाएर बस्ने, खोक्दा हाच्छ्युँ गर्दा मुख छोप्ने र मास्क लगाउने गरे सङ्क्रमण फैलन पाउँदैन । मौसमी फ्लु र रुघाखोकीको सङ्क्रमणबाट जोगिन मास्क लगाउनुका साथै सरसफाइ र चिसोबाट बच्नु पर्ने डाक्टरको भनाइ छ ।
ज्वरो, रुघाखोकी, घाँटीको खसखसलगायत लक्षण भएकाहरूले तागतिला मनतातो झोलिलो पदार्थ खाएर र न्यानो भएर घरमै आफ्नो हेरचाह गर्न सक्छन् । तर, यसरी बसेको ७२ घण्टासम्म पनि कम नभए भने अस्पताल जानु पर्ने डाक्टरको सुझाव छ ।
चिसो र मौसमी फ्लुबाट जोगिन तानो न्यानो कपडा लगाउन, मन तातो पानी र झोलिलो पदार्थ खान, हरियो सागसब्जी र फलफूल खान डाक्टर बमको सल्लाह छ । तर फ्रिजमा राखिएका खानेकुरा नतताइ खानु हुँदैन । यस्तै, जाँड रक्सी र सुर्ती चुरोट पनि नखान डाक्टरको आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।