उपत्यकाका धेरैजसाे सार्वजनिक गाडी प्रदूषण परीक्षणमा फेल

 मंसिर १६, २०७९ शुक्रबार १२:५३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  - काठमाण्डाै उपत्यकाका प्रायजसाे सार्वजनिक गाडी प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ । 

शुक्रवार काठमाण्डाैको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग गाडीको प्रदूषण परीक्षण गर्दा प्रायजसाे गाडी प्रदूषण परीक्षणमा फेल रहेका पाइएको हो । 

आज विभागले गरेको ५४ वटा गाडीको प्रदूषण परीक्षणमा ३८ वटा गाडी फेल भएका पाइएको छ भने १६ वटा गाडी मात्रै पास भएका विभागले जनाएको छ । वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले आजको प्रदूषण परीक्षणमा फेल हुने गाडीलाई मर्मत गरेर प्रदूषण पास हुनेगरी चलाउन समय दिएको बताउनु भयो । उहाँले प्रदूषण फेल हुनेहरुले प्रदूषण परीक्षण गरी वातावरण विभागमा आएर पुनः परीक्षण गराइ पास भएपछि मात्रै कागजपत्रहरु फिर्ता लैजान पाउने बताउनु भयो । उहाँले परीक्षण पास गर्न पठाएका गाडीहरु अर्को पटक पनि परीक्षण गर्दा फेल भएमा वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाख रुपैयाँसम्मको कारबाही गर्ने चेतावनी दिनुभयो ।

महानिर्देशक घिमिरेले आउँदाे दिनमा गाडी प्रदूषण फेल भएर चलाएको पाइएमा विभाग कारबाही गर्ने कुरामा पछि नहट्ने बताउनु भयो । उहाँले विगतमा हालै मात्र प्रदूषण परीक्षण गराएको हो भनेर चालकहरु पन्छिने गरेको भन्दै यसपटक लापरबाही नगर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘आज हामीले प्रदूषण परीक्षण मात्रै गरेका छौँ । फेल हुनेहरुलाई मर्मत गरेर प्रदूषण पास हुनेगरी चलाउन समय दिएका छौँ । उहाँहरुले बनाएर पुनः वातावरण विभागमा आएर पुनः परीक्षण गराएर पास भएपछि उहाँहरुका कागजपत्रहरु फिर्ता गरिन्छ । पहिलो पटकलाई हामीले अहिले जरिबाना गरेका छैनौँ । अहिले पठाएका गाडीहरु पुनः अर्को पटक परीक्षण गर्दा फेल भयो भने वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम वातावरण विभागको महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिबाना हुनसक्ने भन्ने छ । हामी कडाइका साथ कारबाही गर्छौं ।'

गाडी प्रदूषणसँगै ट्राफिक प्रहरीले यान्त्रिक अवस्था र कागजातपत्रको पनि जाँच गरिरहेको छ । यातायात व्यवस्था कार्यविधिअनुसार अहिले पनि प्रत्येक भाडाका गाडीले ६/६ महिनामा गाडीकाे प्राविधिक जाँच गराउनुपर्छ ।

यातायात कार्यालयमै गएर गरिने त्यस्तो जाँचको अनिवार्य सर्त प्रदूषण जाँचको रिपोर्ट गरिएको छ । अबदेखि प्रत्येक ठूला तथा भाडाका गाडीले ६/६ महिनामा प्रदूषण जाँचको रिपोर्ट लिएर जानुपर्छ । त्यस्तै साना तथा मझौला गाडीले १ वर्षमा एक पटक त्यस्तो जाँच गराउनुपर्छ । जसमा पनि प्रदूषण जाँचको रिपोर्ट अनिवार्य गरिएको छ ।

परीक्षण पास नहुन्जेलको लागि रुट इजाजत निलम्बन हुने, गाडीमा रहेका यात्रुहरुलाई अन्तिम बिन्दुसम्म पुर्याएपछि गाडी गुडाउन नपाउने, आवश्यक मर्मतसम्भार पश्चात पुनः प्रदूषण जाँचको लागि वातावरण विभागमा सम्पर्क गर्नुपर्ने प्रावधान छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया