मङ्सिर २६ गतेसम्म चुनावसम्बन्धी सबै काम सकिने

 मंसिर १६, २०७९ शुक्रबार १९:४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही मङ्सिर २६ गतेसम्ममा चुनाव प्रक्रियाका सबै काम सक्ने बताउनुभएको छ । 

आज शुक्रवार जिल्ला निर्वाचन कार्यालय काठमाण्डौले जिल्लामा चुनावमा खटिने निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखका लागि राखेको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनाव प्रक्रियाका सबै काम मङ्सिर २६ गतेसम्म सक्ने तयारी रहेको बताउनुभएको हो । उहाँले मङ्सिर १९ गतेसम्ममा मतगणना कार्य सम्पन्न गरिसक्ने र राजनीतिक दलहरूलाई मङ्सिर २२ गतेसम्ममा निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको नाम कानुनले तोके अनुरूप पठाउनका लागि पत्राचार गरिने पनि उल्लेख गर्नुभयो । त्यसपछि राष्ट्रपति समक्ष प्रतिवेदन पेस हुने उहाँले बताउनुभयो । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले एकै चरणमा सबै ठाउँको चुनाव सम्पन्न गरेर आउँदा दिनमा पनि सबै ठाउँमा एकै चरणमा चुनाव सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको बताउनुभयो । उहाँले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको उल्लेख गर्नुभयो । 

उहाँले आफूहरू वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नभएको बताउनुभयो । उहाँले आउँदो संसदमा चुनावसम्बन्धी नयाँ कानुन लैजाने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट छैनौँ । हामी छिट्टै अब नयाँ कानुनद्वारा निर्वाचनको व्यवस्थापन गरिनुपर्छ भन्ने कुरामा व्यापक तयारी गरिरहेका छौँ । सम्भवतः यो नयाँ संसदको नयाँ अधिवेशनमा नयाँ कानुन प्रवेश गर्नेछ ।’

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया