टोलमै पुगेर विवाद मिलाउँदै नेचासल्यान गाउँपालिकाको न्यायिक समिति

 मंसिर २१, २०७९ बुधबार २०:२९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – नेचासल्यान गाउँपालिका वडा नम्बर ४ की डम्मरकुमारी बाँस्तोलाले श्रीमानले सौता ल्याएको र आफूलाई ललाइफकाइ कमाइको आधा सम्पत्ति र पेन्सनसमेत आधा दिन्छु भनेर गरेको सहमति कार्यान्वयन नभएको भन्दै श्रीमानले गरेको वाचाअनुसार न्याय पाउनुपर्ने मागसहित गएको कात्तिक २९ गते न्यायिक समितिमा उजुरी दिनुभयो । आफ्नै नाता पर्ने मान्छेलाई सौता भित्र्याएपछि आफूलाई छुट्याएर राख्दा घर चलाउन समस्या परेको बाँस्तोलाको निवेदनमा उल्लेख छ । 

यसअघिको अभ्यासमा यस्ता उजुरीमा वादी/प्रतिवादी दुवैलाई पालिका झिकाइ न्यायिक समितिमा कचहरी गराइन्थ्यो । तर यो मुद्दामा साक्षी प्रमाण सङ्कलनको काम पीडितकै टोलमा गएर गरियो । अन्त्यमा उहाँका श्रीमान् शिवप्रसाद बाँस्तोलालाई कमाइको आधा रकम दिलाउने गरि फैसला भएपछि दुवै पक्ष सहमतिमा आए । समस्या समाधान भयो । 

नेचासल्यान ३ का खिलनाथ भट्टराईले पनि चार महिनाअघि सडक उपभोक्ता समितिले बाटाे खन्दा आफ्नो जग्गा मिचेको भन्दै मिचेको जग्गा उकासिदिन मागदाबीसहित न्यायकि समितिमा उजुरी दिनुभयो । यो मुद्दामा पनि पालिकाकी उपाध्यक्ष विना राई न्यायिक समितिको टोली नै लिएर सम्बन्धित ठाउँमा पुग्नुभयो । विवाद मिल्यो । 

नेचासल्यान २ का ८० वर्षीय तिलकध्वज राईले छिमेकीले जग्गाको साँध–सिमाना मिचेको उजुरी न्यायिक समितिमा दर्ता गराउनुभयो । यो मुद्दा मिलाउन पनि उपाध्यक्ष राई वडाध्यक्षसहित पीडितले दिएको निवेदनअनुसार सीमा मिचिएको जग्गामै पुगेर छलफल गरि मुद्दा किनारा लगाउनुभयो । 

यो आर्थिक वर्षको अहिलेसम्मको अवधिमा मात्रै न्यायिक समितिले पाँच वटा मुद्दा टोल–टोलमै पुगेर किनारा लगाउने गरेको उपाध्यक्ष राईले बताउनुभयो । एउटै मुद्दामा पक्ष र विपक्ष गरि २० जनाभन्दा बढी व्यक्ति पालिका झिकाउँदा समय, खर्च र दुःख सबै लाग्ने भएकोले न्यायिक समिति नै पीडितकोमा जान थालेको उहाँले बताउनुभयो । यसो गर्दा घटनाको वास्तविकता पनि थाहा हुने उपाध्यक्ष राईको अनुभव छ । 

नेचासल्यान गाउँपालिकामा चालु आर्थिक वर्षकाे पाँच महिनामा २० वटा उजुरी न्यायिक समितिमा परेका छन् । त्यसमध्ये १२ वटा उजुरीको न्यायिक निरूपण भइसेकेको र बाँकी प्रक्रियामा रहेको उपाध्यक्ष राईले बताउनुभयो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया