कालीकोटमा आयोडिनयुक्त नुनको अभाव, खरिदका लागि नआउन उपभोक्तालाई साल्ट ट्रेडिङको आग्रह

 मंसिर २३, २०७९ शुक्रबार ७:२५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – कालीकोटमा आयोडिनयुक्त नुनको अभाव भएको छ । आयोडिनयुक्त नुन वितरण गर्ने साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय मान्ममा आयोडिनयुक्त नुन सकिएका कारणले नुनको अभाव भएको हो ।

कालीकोटमा साल्ट ट्रेडिङ कर्पोरेशनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा ठेकेदारले नुन ढुवानी नगर्दा अभाव भएको हो ।

चालु आर्थिक वर्षमा आयोडिनयुक्त नुन ढुवानीको जिम्मा लिएको नमूना ढुवानी सेवाले ३ हजार ५ सय क्विन्टल आयोडिनयुक्त नुन ढुवानी गर्नुपर्नेमा अहिलेसम्म ३ सय ५५ क्विन्टल मात्र ढुवानी गरेको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय कालीकोटका कर्मचारी लालबहादुर बमले जानकारी दिनुभयो ।

‘अहिले डिपोमा आयोडिनयुक्त नुन पनि सकिएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले बिक्री गर्दै आएको सहुलियतको नुन ढुवानीको जिम्मा लिएको ठेकेदार कम्पनीले ढुवानी नगर्दा नुनको अभाव भएको हो ।’

साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय कालिकोटले अर्को सूचना नआएसम्म गाउँका नागरिकलाई आयोडिनयुक्त नुन लिन नआउन आग्रह गरेको छ ।

ढुवानीकर्तालाई नियमित ताकेता गर्दा पनि मागअनुसार नुन ढुवानी नगरेको शाखा कार्यालयका कर्मचारी बमको भनाइ  छ ।

‘आयोडिनयुक्त नुन ढुवानी गर्नका लागिका ठेकेदार कम्पनी मानेनन्,’ उहाँले भन्नुभयो, ‘ढुवानीका अन्य विकल्पका विषयमा छलफल भइरहेको छ ।’

कालीकोट जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेशनले अन्य ठाउँको भन्दा सहुलियत दरमा नुन बिक्री गर्ने गरेको बमले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया